हङ्कङमा प्रदर्शनपछि उडान स्थगित

डिसी नेपाल
२७ साउन २०७६ १९:४९

हङ्कङ (एजेन्सी) । लगातार चौथो दिन विमानस्थलभित्रै सरकारविरोधी प्रदर्शन कायम रहेपछि हङ्कङ अन्तर्राष्ट्रिय विमानस्थलले त्यहाँबाट प्रस्थान गर्ने उडानहरू स्थगित गरेको छ । संसारको व्यस्त विमानस्थलमध्ये एक रहेको त्यहाँ हजारौँ प्रदर्शनकारी जम्मा भएका छन् ।

एक वक्तव्यमा अधिकारीहरूले मानिसहरू जम्मा भएका कारण विमानस्थल सञ्चालनकार्यमा गम्भीर असर परेको बताए । आइतवारको प्रदर्शनमा नजिकैबाट अश्रुग्यास र अन्य कम घातक गोलीहरू प्रहार गरएिको भिडिओ सार्वजनिक भएपछि प्रदर्शनकारीहरूले प्रहरीको आलोचना गरेका छन् । आइतवार प्रहरीको प्रहारका कारण आँखामा चोट लागेर रक्ताम्मे भएकी एक महिलासँग ऐक्यबद्धता जनाउन केही प्रदर्शनकारीहरूले आँखामा पट्टी बाँधेर प्रदर्शन गरेका छन् । सोमवार हङ्कङ विमानस्थल प्राधिकरणले एक विज्ञप्ति जारी गरेर उडान प्रक्रिया शुरू नभएका सबै उडानहरू स्थगित गरेको बताएको छ ।

अधिकारीहरूले नागरिकहरूलाई विमानस्थल नआउन भन्दै आगमनको क्रममा रहेका विमानहरूलाई भने आउन दिने बताएका छन् । सन् २०१८ मा सो विमानस्थल हुँदै सात करोड ५० लाख यात्रुले यात्रा गरेका थिए । ‘हामी यहाँ आइपुग्नु अगाडि यहाँ पाँच हजार प्रदर्शनकारी रहेको सूचना पाएका थियौँ,’ वरिष्ठ प्रहरी अधिकृत कङ् विङ–चुङले भने । प्रहरीले विमानस्थलमा छिरेर प्रदर्शनकारीहरूलाई तितरबितर गर्छ कि गर्दैन भन्ने स्पष्ट छैन ।

हङ्कङमा एक विवादास्पद सुपुदर्गी विधेयकलाई लिएर शुरु भएको प्रदर्शन सो विधेयक फिर्ता हुँदा पनि मत्थर भएको छैन । प्रदर्शनकारीहरुलाई अमेरिका र बेलायतको समर्थन रहेको भन्दै चीनले कडा प्रतिक्रिया दिएको छ । यद्यपी चिनियाँ प्रहरी वा सेनाले हालसम्म हङ्कङको प्रदर्शनमा हस्तक्षेप गरिसकेको छैन । तर, राजनीतिक विषयमा कमै प्रतिक्रिया दिने चिनियाँ सेनाले दिएको प्रतिक्रियाको अर्थ गम्भीर रहेको अन्तर्राष्ट्रिय विश्लेषकहरु बताउँछन् ।

हङ्कङ ९० को दशकमा बेलायतको नियन्त्रणबाट मुक्त भएर चीनको अंग बनेको थियो । तर, हङ्कङ चीनको विशेष प्रशासनिक क्षेत्र हो । हङ्कङलाई विशेष दर्जा दिइएको छ । एक मुलुक दुई नीतिको अवधारणा अनुसार हङ्कङ चल्ने गरेको छ । तर, लोकतन्त्रवादी भनिने प्रदर्शनकारीहरु भने हङ्कङमा चिनियाँ प्रभाव बढ्दै गएको बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *