कडा सुरक्षाबीच ईद मनाए कश्मीरीले

डिसी नेपाल
२७ साउन २०७६ २१:५९

नयाँ दिल्ली (बीबीसी)। कडा सुरक्षाबीच भारत नियन्त्रित कश्मीरमा सर्वसाधारणहरूले ईद–उल–अज्हा पर्व मनाएका छन्।

राजधानी श्रीनगरस्थित मुख्य मस्जिदसम्म पुग्न सकिने अवस्था नरहेका कारण धेरैले स्थानीय मस्जिदमा उक्त पर्व मनाएको बीबीसीका श्रीनगरस्थित संवाददाताहरूले बताएका छन्।

सौरा क्षेत्रमा प्रदर्शनका केही घटना भएको बताइए पनि पर्व धेरै हदसम्म शान्तिपूर्ण रूपमा मनाइएको अधिकारीहरूले जनाएका छन्। भारतले कश्मीरलाई दिँदै आएको विशेष अधिकार फिर्ता लिएसँगै उक्त क्षेत्र पूर्ण रूपमा ठप्प छ।

भारतको संविधानको धारा ३७० मा गरिएको व्यवस्थाले कश्मीरलाई धेरै हदसम्म स्वायत्त अधिकार प्रदान गरेको थियो। उक्त कानुनी व्यवस्था अनुरूप कश्मीरको आफ्नै संविधान, फरक झन्डा र कानुन निर्माण गर्ने छुट थियो। विदेश, रक्षा र सञ्चार मामिलामा चाहिँ केन्द्र सरकारको अधीनमा थियो।

उक्त प्रावधान हटाइएसँगै कश्मीरमा तनाव बढेको छ। गत साता विशेष अधिकार कटौती गरिएको निर्णय सुनाउनु अघि नै मुस्लिम समुदाएको बाहुल्यता रहेको उक्त क्षेत्रमा दशौँ हजारको सङ्ख्यामा सेना परिचालन गरिएको थियो।

विवादास्पद निर्णय सार्वजनिक गरिएसँगै कश्मीरमा सयौँलाई पक्राउ गरिएको छ। आन्दोलनलाई कम प्रभावकारी बनाउन राजनीतिज्ञ, अधिकारकर्मी र प्राज्ञिक व्यक्तिहरूलाई पक्राउ गरिएको छ।

तर पनि त्यहाँ आन्दोलनका घटनाहरू सार्वजनिक भएका छन्। आन्दोलनकारीहरूले सुरक्षा फौजमाथि ढुङ्गा प्रहार गरेको विवरणहरू सार्वजनिक भएका छन्।

शुक्रवार मध्यान्नमा हुने साप्ताहिक प्रार्थनाको कार्यक्रम सकिएसँगै सयौँको सङ्ख्यामा रहेका सर्वसाधारणहरूको सुरक्षाकर्मीहरूसँग भिडन्त भएको थियो। त्यसले गर्दा सोमवार सुरक्षा व्यवस्था कडा पारिएको थियो।

गत सातादेखि बन्द गरिएको टेलिफोन र इन्टरनेट सेवा हालसम्म खुला गरिएको छैन। सञ्चार सुविधा नहुँदा मानिसहरूले एक आपसमा ईदको शुभकामना आदानप्रदान गर्न सकेका छैनन्।

भारतका अन्य क्षेत्रमा बस्ने कश्मीरीहरूले आफ्ना परिवारका सदस्यहरूसँग कुराकानी गर्न नसकेको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *