बाढीले भारतमा दश लाख विस्थापित, मृतकको संख्या १८४ पुग्यो

डिसी नेपाल
२७ साउन २०७६ २२:५८

नयाँ दिल्ली (रासस/एएफपी) । भारतमा अघिल्लो हप्तादेखि परेको बर्षासँगै आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १८४ पुगेको छ ।

सरकारी अधिकारीहरुले सोमबारसम्ममा मृत्यु हुनेको संख्या बढेर १८४ पुगेको पुष्टि गरेका हुन् । उनीहरुले बाढीका कारण दश लाख विस्थापित भएको पनि बताएका छन् ।

देशको दक्षिणी क्षेत्रमा पर्ने केरला राज्यमा गत हप्ता तीन दिनसम्म ठूलो बर्षा भएपछि बाढीले धनजनको क्षति गरेको हो ।

“यहाँ कम्तीमा ७६ जनाको मृत्यु भएको छ, ५८ जना अझै हराइरहेका छन् भने ३२ जनालाई घाइते अवस्थामा भेटेर उद्धार गरिएको छ,” केरलाका प्रहरी प्रवक्ता प्रमोद कुमारले एएफपीसँग भने।

पछिल्लो विवरण अनुसार यस राज्यका मात्रै झण्डै दुई लाख ८८ हजार जना नराम्रोसँग प्रभावित भएको उनले बताए। केरला राज्यका वायानाद, मालापुरम र कोझीकोडका बासिन्दालाई शिविरमा राखिएको पनि उनले जानकारी दिए।

छिमेकी कर्नाटक राज्यमा कम्तीमा ४२ जनाको मृत्यु भएको विवरण प्रहरीले दिएको छ । यो तथ्याङ्क पछिल्लो समयको सवै भन्दा नराम्रो भएको अधिकारीहरुले जनाएका छन् ।

“हाम्रो राज्यबाट ५ लाख ८० हजार भन्दा बढी विस्थापित भएका छन्,” कर्नाटक राज्य सरकारका एक उच्च अधिकारीले एएफपीसँग भने ।

बाढीका कारण धेरै राजमार्ग र अन्य बाटोहरुमा क्षति भएकाले सवारी साधन चल्न नसकेको समाचारमा जनाइएको छ ।

भारतीय सञ्चार माध्यमहरुले अरु ६६ जनाको पनि बाढीका कारण मृत्यु भएको जनाएका छन् । उनीहरुको महाराष्ट्र र गुजरातमा मृत्यु भएको र अरु दशौँ हजार जना विस्थापित भएको अधिकारीहरुले जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *