बाढीले भारतमा दश लाख विस्थापित, मृतकको संख्या १८४ पुग्यो

डिसी नेपाल
२८ साउन २०७६ ६:०६

नयाँ दिल्ली । भारतमा अघिल्लो हप्तादेखि परेको बर्षासँगै आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १८४ पुगेको छ । सरकारी अधिकारीहरुले सोमबारसम्ममा मृत्यु हुनेको संख्या बढेर १८४ पुगेको पुष्टि गरेका हुन् । उनीहरुले बाढीका कारण दश लाख विस्थापित भएको पनि बताएका छन् ।

देशको दक्षिणी क्षेत्रमा पर्ने केरला राज्यमा गत हप्ता तीन दिनसम्म ठूलो बर्षा भएपछि बाढीले धनजनको क्षति गरेको हो । “यहाँ कम्तीमा ७६ जनाको मृत्यु भएको छ, ५८ जना अझै हराइरहेका छन् भने ३२ जनालाई घाइते अवस्थामा भेटेर उद्धार गरिएको छ,” केरलाका प्रहरी प्रवक्ता प्रमोद कुमारले एएफपीसँग भने ।

पछिल्लो विवरण अनुसार यस राज्यका मात्रै झण्डै दुई लाख ८८ हजार जना नराम्रोसँग प्रभावित भएको उहाँले बताए । केरला राज्यका वायानाद, मालापुरम र कोझीकोडका बासिन्दालाई शिविरमा राखिएको पनि उनले जानकारी दिए । छिमेकी कर्नाटक राज्यमा कम्तीमा ४२ जनाको मृत्यु भएको विवरण प्रहरीले दिएको छ। यो तथ्याङ्क पछिल्लो समयको सवै भन्दा नराम्रो भएको अधिकारीहरुले जनाएका छन्।

“हाम्रो राज्यबाट ५ लाख ८० हजार भन्दा बढी विस्थापित भएका छन्,” कर्नाटक राज्य सरकारका एक उच्च अधिकारीले एएफपीसँग भने। बाढीका कारण धेरै राजमार्ग र अन्य बाटोहरुमा क्षति भएकाले सवारी साधन चल्न नसकेको समाचारमा जनाइएको छ।

भारतीय सञ्चार माध्यमहरुले अरु ६६ जनाको पनि बाढीका कारण मृत्यु भएको जनाएका छन् । उनीहरुको महाराष्ट्र र गुजरातमा मृत्यु भएको र अरु दशौँ हजार जना विस्थापित भएको अधिकारीहरुले जनाएका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *