घरदेशको विपत्तिमा परदेशको सहयोग
युएई । वैदेशिक रोजगारीको लागि युएईमा रहेका गुल्मी जिल्लाका केही युवाहरूले आफ्नो गाउँमा प्राकृतिक विपत्तिमा परेका पीडितहरूको राहतका लागि आर्थिक सहयोग पठाएका छन्।
सत्यवती गाउँपालिका–४ लुम्पेक र लिम्घा गाउँमा गत साउन ७ गते आएको बाढीपहिरो पीडितहरूको उद्धारका लागि १ लाख ६५ हजार ४ सय ४ रुपैयाँ सहयोग गरेको सहयोग संकलनमा सक्रिय लिम्धा युएई सम्पर्क समितिका होमनाथ परियारले जानकारी दिएका छन्।
उक्त पहिरोमा परी १३ जनाले ज्यान गुमाएका थिए भने ३ घर पहिरोले पूर्णरूपमा बगाएको र २५ घर विस्थापित भएका थिए।
युएईको फुजेरा, दुबई, अबुधाबीमा कार्यरत करिब ७० जना गुल्मेली र गैरगुल्मेलीहरुको सहयोग संकलन गरी पीडितहरूको आवासको लागि आवश्यक जमिन खरिद गर्न उक्त रकम खर्च गरिने अभियन्ता परियारले बताएका छन्।
‘परदेशमा रहे पनि घरदेशमा समस्या पर्दा टुलुटुलु हेर्न नसकिने रहेछ, युएईको फुजेरामा सामाजिक अभियन्ताको परिचय बनाएका परियारले भने, ‘आफ्नो गाउँको हितको लागि परदेशबाट सकेको सहयोग सबैले गर्नुपर्छ।’
उक्त पहिरोमा परी विस्थापित २५ परिवारको लागि गाउँपालिका र स्थानीय लिम्घेली क्लव मिलेर सुरक्षित आवासको व्यवस्थापन गर्ने अभियानमा युएईका साथै कतार, बहराइन, साउदी, हङकङ, मलेसिया, कोरिया आदि देशमा रहेका सोही गाउँबाट परदेशिएका नेपालीहरूले सहयोग संकलन गरिरहेको क्लवका अध्यक्ष प्रेम विश्वकर्माले बताएका छन्।
युएईबाट रकम संकलनमा सहयोगी भूमिका निर्वाह गरेका विरेन्द्र खड्का, कृष्ण परियार, डोलराज न्यौपाने, सूर्य राई, भुपाल कुँवर, प्रिय कार्की लगायत सबै दाताहरूलाई अभियन्ता होम परिवारले धन्यवाद दिएका छन्।
Facebook Comment