‘अन्तर्राष्ट्रिय लगानी नजुटे निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकार आफैंले बनाउँछ’

डिसी नेपाल
२८ साउन २०७६ १७:२३

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्न अन्तराष्ट्रिय लगानी नजुटे सरकारले आफैं लगानी गर्ने बताएका छन्।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथ समन्वय समितिको मंगलबारको बैठकमा बोल्दै मन्त्री भट्टराईले लगानी बोर्डबाट निजगढ विमानस्थलका लागि लगानी जुट्ने अवस्था नआए सरकारले निर्माणकार्य अगाडि बढाउने बताए। उनले लगानीको विषयमा लगानी बोर्डका पदाधिकारीसँगको छलफल पछि थप निर्णय लिने बताए।

वैदेशिक लगानी नआए के गर्ने भन्ने चिन्तामा सरकार नरहेको भन्दै मन्त्री भट्टराईले सरकार ब्याकअपमा बसेर काम गरिरहेको बताए।

आगामी मंसिरसम्म निजगढ विमानस्थलको शिलान्यासको घोषणा गरेका मन्त्री भट्टराईले पूर्व तयारीका काम सम्पन्न गरेर शिलान्यास गरिने सरकारको योजना रहेको बताए। समितिमा बोल्दै मन्त्री भट्टराईले सरकारले बनाउनु पर्ने अवस्था आए नेपाली प्राविधिकहरुले बनाउने जानकारी दिए। नेपाली प्राविधिकहरु पनि अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने भएकाले कर्मचारीहरुलाई विश्वास गर्नुपर्ने बताए।

मन्त्री भट्टराईले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण अघि त्यस क्षेत्रको बस्तीलाई व्यवस्थित गरिने बताए। विस्थापित हुने सबै नेपाली दाजु-भाइ नै भएकोले अन्याय नहुने गरि व्यवस्थापन गर्ने सरकारको प्रतिबद्धता रहेको बताए।

मन्त्री भट्टराईले विमानस्थल बनाउँदा १ हजार ९ सय हेक्टरभित्र आधारभूत संरचना बन्ने जानकारी दिँदै वृक्षारोपणको कामलाई महत्वका साथ अघि बढाउने बताए। विमानस्थल निर्माण गर्दा रुख काट्नुअघि वृक्षारोपण गर्ने सरकारको तयारी रहेको छ। निजगढ विमानस्थल निर्माण कार्यमा करिब ६ लाख रुख काटिने प्रतिवेदनमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *