राष्ट्रियसभा बैठक : जनसराेकारका विषयमा सरकारकाे ध्यानाकर्षण

डिसी नेपाल
२९ साउन २०७६ १५:३९

काठमाडाैं। राष्ट्रियसभा बैठकको आजको विशेष समयमा सदस्य सुमनराज प्याकुरेलले गत असार २६ गतेदेखिको अविरल वर्षात्ले प्रदेश नं २ का अधिकांश जिल्ला प्रभावित भएकाले तत्काल अल्पकालीन तथा दीर्घकालीन योजनासहित कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेका छन्।

उनले भने, “चुरे संरक्षणमा प्राथमिकता दिनुप¥यो । रोपिएका धान नष्ट भयो, रोप्न नपाएका धान मल नभएर रोप्न नसकिएको स्थिति छ। खाद्यान्न सङ्कट आउन नदिन ध्यान दिनुपर्यो।” सांसद विन्दादेवी आले मगरले पोखराको सिटी सेन्टरमा आगलागी हुँदा २० मिनेट ढिलो गरी नगरपालिकाबाट दमकल पुग्नु विडम्बना भएको बताउँदै क्षति भएकालाई राहत दिन माग गरे। उनले भने, “विपद् व्यवस्थापन पूर्वतयारीमा ध्यान दिनुपर्यो।”

सांसद दिलकुमारी रावलले मातृ मृत्युदर घटाउन राष्ट्रपति गर्भवती हवाई उद्धार कार्यक्रम प्रभावकारी भए पनि यसको कार्यविधि संशोधन गर्न आवश्यक रहेकामा जोड दिँदै सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई निः शुल्क वितरण गरिने स्यानेटरी प्याड स्थानीयस्तरमा उत्पादनमा ध्यान दिन सुझाव दिइन्। सो कार्यक्रमबाट हालसम्म ३२ गर्भवतीको उद्धार भएको छ। पछिल्लो समय नेपालको मातृ मृत्युदरमा उल्लेखनीय सुधार हुन सकेको छैन। अहिले पनि प्रतिएक लाखमा १९० मातृमृत्युदर छ।

सांसद जीतेन्द्रनारायण देवले सरकारले शान्तिसुरक्षामा ध्यान नदिएको र संविधानको मर्म र भावनानुसार विधेयक द्रुतरुपमा नबनेको बताए। उनले प्रश्न गरे, “सङ्घीयता कार्यान्वयनमा सहयोग पुग्ने गरी किन विधेयक आएनन्? सरकार राष्ट्रिय सहमतिको भावनाले सञ्चालन गर्नुपर्छ।” सांसद प्रकाश पन्तले तनहुँका विभिन्न सडकमाथि कालोपत्र गर्ने कार्य सकिएको भोलिपल्टदेखि उप्किन थालेका तर्फ ध्यानाकर्षण गराउँदै निर्माण गुणस्तर नभएकामा आपत्ति जनाए।

सांसद प्रमिला कुमारीले चुरे संरक्षण र हुलाकी मार्ग निर्माणमा ध्यान दिन आग्रह गर्दै विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय तहका बीचमा समन्वयात्मक काम गर्नुपर्यो भनिन्। सांसद रमेशप्रसाद यादवले बारा जिल्लामा आएको हावाहुरी पीडितले अझै राहत नपाएको गुनासो गर्दै वृक्षरोपण गरिएका वृक्षको के कति संरक्षण भयो भन्ने प्रश्न गरे। सांसद शेरबहादुर कुँवरले काम गरेर भारतबाट फर्किएका नेपाली श्रमिक सीमा क्षेत्रमा लुटिने प्रवृत्ति अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए।

मनोमानी भर्ना तथा मासिक शुल्क

शून्य समयमा सांसद अनिता देवकोटाले मानव बेचबिखनसम्बन्धी महासन्धि अनुमोदन गर्न माग गर्दै यसले महिला र बालबालिकाको बेचबिखन नियन्त्रण र रोकथाममा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। सांसद उदया शर्मा पौडेलले निजी विद्यालयले मानोमानी रुपमा मासिक र भर्ना शुल्क उठाइरहँदा शिक्षा, विज्ञान तथा मन्त्रालय मूकदर्शक बसेको भनी आपत्ति जनाइन्। उनले निजी विद्यालयका शुल्कको अनुगमन गरी कहिलेदेखि कारवाही शुरु हुन्छ भन्ने प्रश्न गरिन्। उनले भनिन्, “निजी विद्यालयले कुन कानूनमा टेकेर जथाभावी विभिन्न शुल्क उठाइरहेका छन्। जानकारी दिनुपर्यो।”

सांसद कमलाकुमारी रोक्काले सुकुम्बासीलाई जग्गा वितरणमा ध्यान दिन माग गरिन्। सांसद खुमकुमार विकले १८१ रोपनी जग्गामा रहेको पोखराको बसपार्क सुकुम्बासी र ‘हुकुम्बासी’बाट अतिक्रमण परेका तर्फ ध्यानाकर्षण गराए।

सांसद चक्रप्रसाद स्नेहीले कञ्चनपुर जिल्लास्थित दोधारा चाँदनी क्षेत्रमा नेपाली रुपैयाँको कारोवार चलाउन र साँझ विद्युतीय ट्राफिक व्यवस्था गर्न माग गरे। सांसद कोमल वलीले शारीरिक अपाङ्गता भएका बालबालिकालाई सहजरुपमा विद्यालय जाने वातावरण शिक्षा मन्त्रालयबाट मिलाउन ध्यानाकर्षण गराइन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *