‘जाइरा’बाट एक्सनमा सिर्जनाले सम्भावना देखाएकी हुन् ?
काठमाडौं। नेपालमा महिला केन्द्रित चलचित्र निकै कम बन्ने गरेका छन्। केही महिला केन्द्रित चलचित्र निर्माण भएपनि ति चलचित्रले राम्रो ब्यापार गर्न नसकेका उदाहरण हामीमाझ छन्।
निर्माता/निर्देशक तथा महिलाकेन्द्रित चलचित्र बनाएर जोखिम उठाउन नचाहेको देखिन्छ।
यद्यपी भदौं ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जाइरा’ महिलालाई केन्द्रमा राखेर निर्माण गरिएको छ। चलचित्रमा अभिनेत्री नम्रता श्रेष्ठ प्रमुख भूमिकामा छिन्। उनले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छन्। चलचित्रमा उनलाई एक्सन गर्दै गरेको देख्न सकिनेछ। पर्दामा लभर गर्लको भूमिकामा निकै रुचाइएकी उनले पहिलो पटक एक्सन भूमिका निर्वाह गरेकी हुन्।
यो उनको चलचित्र करिअरको सबैभन्दा चुनौतीपूर्ण भूमिका मानिएको छ। एक महिलाले लिने प्रतिशोधको कथामा चलचित्र निर्माण गरिएको बताईएको छ।
यो चलचित्रमा नेगेटिभ रोल अर्थात् भिलेनमा पनि महिलालाई नै प्रस्तुत गरिएको छ। नव–अभिनेत्री सिर्जना रेग्मी चलचित्रमा भिलेन ‘बुलेट’ पात्रको भूमिकामा छिन्। चलचित्रमा अभिनेत्री नम्रता र उनले जबरजस्त लडाईं गरेका छन्। ट्रेलरमा पनि त्यसको केही दृश्य अटाइएको छ। अभिनेत्री नम्रताका अनुसार, फिल्ममा अहिलेसम्मकै पावरफुल फिमेल भिलेनको क्यारेक्टर सिर्जनाले निभाएकी छन्।
चलचित्रको ट्रेलर सार्वजनिक भएपछि सिर्जनाको लुक्स र एक्सनको सर्वत्र प्रशंसा भइरहेको छ। ट्रेलरको एक दृश्यमा उनको बाइक स्टन्टले अझ धेरैको ध्यान खिचेको छ। चलचित्र रिलिज अगावै उनलाई एक्सनमा राम्रो सम्भावना बोकेको कलाकारका रुपमा हेर्न थालिएको छ। उनी पनि यो चलचित्रलाई लिएर आफू निकै आशावादी रहेको बताउँछिन्। चलचित्रमा आफूले एक्सनमा निकै मेहनत गरेको उनको भनाई छ।
आशुतोषराज श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रमा नम्रता र सिर्जनाका अलावा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, सुजता श्रेष्ठ, सम्राट मगरलगायतको पनि अभिनय छ। पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन्। कटामरी फिल्मस्को सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा बनेको चलचित्रका कार्यकारी निर्माता प्रशन्न गोपाली हुन्। बाबु श्रेष्ठले चलचित्र खिचेका हुन्।
Facebook Comment