अमेरिकी शेयर बजारमा गिरावट

डिसी नेपाल
३० साउन २०७६ २२:१३

वाशिङ्टन (एजेन्सी) । बुधवार वाल स्ट्रीटमा अमेरिका–चीनको व्यापार युद्ध तथा विश्वव्यापी अर्थतन्त्रको स्थिति देखेर लगानीकर्ताहरू अत्तालिएका छन् । त्यसैको कारण मुख्य तीनवटा अमेरिकी स्टक बजार तीन प्रतिशतले झरे ।

अर्थतन्त्रको गभ्भीर विवेचना गर्दै विश्लेषकहरूले अमेरिका आर्थिक मन्दीतर्फ उन्मुख भएको संकेत गरेका छन् । जर्मनी र चीनबाट आएका कमजोर आँकडा तथा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अमेरिकी केन्द्रीय बैंकविरुद्ध अर्को आक्रमणले लगानीकर्तालाई शेयरबाट सुनतर्फ आकर्षित हुन बाध्य पारेको छ । वित्तीय सेवा कम्पनी ब्रुडरम्यानका विश्लेषक ओलिभर पुर्चले विश्वव्यापी अर्थतन्त्रको तस्बिर खराब भएको बताए । ‘हङ्कङमा जे भइरहेको छ, ब्रेक्जिट… अनि यो व्यापार युद्ध, सबै अस्तव्यस्त छ,’ ती प्रमुख बजार रणनीतिकारले बताए । विश्वका प्रत्येक केन्द्रीय बैंकले अर्थतन्त्र उकास्न खोजिरहेका छन् तर विश्वभरिका राजनीतिज्ञहरू भने त्यसलाई ध्वस्त पार्न खोजिरहेको उनले बताएका छन् ।

अमेरिकी सरकारी बन्डले दिने प्रतिफलबारे देखिएका ताजा चिन्ताले गम्भीर आर्थिक सुस्तताको संकेत गरेको छ । बीबीसीले उल्लेख गरेको छ, ‘एक दशकयता पहिलोपल्ट दश वर्षे अवधि भएको अमेरिकी बन्डले दिलाउने फाइदा दुई वर्षे अवधि भएको बन्डभन्दा कम भयो ।’ यस्तो अवस्थालाई इन्भर्टेड यील्ड कर्भ भनिन्छ र यिनले प्रायः आर्थिक मन्दी हुन लागेको संकेत गर्छन् । साथै, उस्तै स्थिति ब्रिटिश सरकारी बन्डमा पनि देखा परेको छ र त्यहाँ पनि स्टक बजार खस्किएको छ । दुई ठूला अर्थतन्त्रबाट आइरहेका निराशाजनक आर्थिक तस्बिरको जानकारीले पनि लगानीकर्ताहरूको चिन्ता बढाइदिएको छ । गत तीन महिनायता जर्मनीको अर्थतन्त्र खुम्चिएको छ भने चीनको औद्योगिक उत्पादनको गति घटेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *