‘भ्रमण वर्ष सफल बनाउन प्रहरीको महत्वपूर्ण भूमिका’

डिसी नेपाल
३० साउन २०७६ २३:५१

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई छिटो, छरितो र सुविधायुक्त सेवा दिनुपर्ने बताएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आज निरीक्षण गर्दै उनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन विमानस्थल प्रहरीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। “प्रहरीले दिने सेवाका कारण नै नेपाल भ्रमण वर्ष सफल भए नभएको प्रष्ट हुन्छ, यसलाई सफल बनाउन गुणस्तरीय सेवाका लागि प्रहरी लाग्नुपर्छ”, उनले भने।

महानिरीक्षक खनालले विदेशी पाहुनाले नेपाल कस्तो छ भन्ने कुरा विमानस्थलबाटै थाहा पाउने हुँदा विमानस्थलको सरसफाइबारे विशेष ध्यान दिनुपर्ने बताए। उनले विमानस्थलमा कार्यरत प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिमा प्रहरी प्रधान कार्यालयले विशेष चासो दिएको उल्लेख गरे। महानिरीक्षक खनालले विदेशी पाहुनालाई मिठो बोली व्यवहारका साथ ‘स्वागत’ र ‘धन्यवाद’ भन्न प्रहरी लजाउन नहुने बताए।

पछिल्लो समय विमानस्थलमा सुनलगायत विभिन्न इलेक्ट्रोनिक्स समानको अवैध तस्करी बढेको, विमानस्थलका कर्मचारीले यात्रुहरूको लगेज लैजाने वा निकाल्ने क्रममा जथाभावी फालेकोलगायतका गुनासो आएको सन्दर्भमा उनले विमानस्थलभित्र हुने अनियमित क्रियाकलाप रोक्न निर्देशन समेत दिएका हुन्।

सोही अवसरमा महानिरीक्षक खनालले विमानस्थलको सुरक्षासम्बन्धी व्यवस्थाको बारेमासमेत जानकारी लिएका थिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *