नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

डिसी नेपाल
३१ साउन २०७६ १२:१६

काठमाडौं। स्कुल विभाग प्रमुख र बाँकी रहेको पार्टी एकताको कामको टुंगो लगाउन सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। पटक पटक स्थगित हुँदै आएको सचिवालय बैठक शुक्रबार (आज) तीन बजे बस्ने तय भएपनि ११ बजे नै बैठक सुरु भएको हो।

बिहीबार बैठक सुरु भएपनि प्रधानमन्त्री ओली अस्वस्थ भएपनि शुक्रबार बस्ने गरी अनौपचारिक छलफल मै बैठक सीमित भएको थियो। शुक्रबार स्वास्थ्यमा सुधार आएपछि दिउँसो तीन बजे बस्ने तय भएको बैठक ११ बजे नै बसेको हो।

बैठकमा स्कुल विभाग प्रमुखका विषयमा छलफल हुने बताइएको छ। पछिल्लो समयमा नेकपा भित्र स्कुल विभाग प्रमुखको विषय प्रतिष्ठाको विषय बन्न पुगेको छ।
पूर्व एमालेको भागमा पुगेको स्कुल विभागको प्रमुख सचिवालय सदस्य ईश्वर पोखरेललाई बनाउने तयारी भएपछि पूर्व माओवादी सशंकित बन्न पुग्यो। ईश्वर पोखरेले पार्टीको राजनीतिक कार्यदिशा जनताको बहुदलीय जनवाद ९जवज० हुनुपर्ने अडान राख्ने नेता हुन्।

त्यस्ता नेतालाई स्कुल विभागको जिम्म दिँदा कार्यकर्तामा नकारात्मक सन्देश जाने भन्दै पोखरेललाई स्कुल विभागको जिम्मा दिन नहुने पक्षमा पूर्व माओवादी देखिएको छ, त्यसो हुनाले प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि स्कुल विभागमा दाबी गर्दै आएका छन्। यही विषयमा सहमति जुट्न नसक्दा अन्य विभागको प्रमुख तोक्ने कामसमेत प्रभावित भएको छ।

पार्टी एकता निष्कर्षको संघारमा पुगे पनि नेकपाले स्कुल विभाग प्रमुख भने छान्न सकेको छैन। आकांक्षीहरूको दाबीमाथि दाबी पर्दै गएपछि केही दिनदेखि सचिवालय तहका नेताहरू अनौपचारिक छलफलमा जुटेका छन्।

स्कुल विभागमा सचिवालय सदस्यद्वय नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले दाबी गरिरहेका छन्। पोखरेललाई अध्यक्ष तथा प्रधानमन्त्री ओलीले साथ दिएका छन् भने श्रेष्ठलाई अर्का अध्यक्ष प्रचण्डको साथ छ।

दुई नेताबीच स्कुल विभाग प्रमुखका लागि रस्साकस्सी चलिरहेकै समयमा स्थायी कमिटी सदस्यद्वय घनश्याम भुसाल र बेदुराम भुसालले पनि दाबेदारी प्रस्तुत गरिरहेका छन्। पार्टीका महत्वपूर्ण विभागहरूमध्ये विदेश, संगठन, अर्थ तथा योजना र नीति तथा प्रतिष्ठान विभाग आफ्नो भागमा पारेको पूर्वएमाले पक्षले स्कुल विभाग पनि आफूसँगै राख्ने अडान लिँदै आएको छ।

नेकपाका नीति तथा प्रतिष्ठानसहित ३३ मध्ये ३२ वटा विभागको भागबण्डा यसअघि नै मिलेको जनाइएको छ। पूर्वएमालेमा स्कुल विभाग प्रमुख अध्यक्ष ओली नै थिए भने पूर्वमाओवादी केन्द्रमा श्रेष्ठले स्कुल विभागको नेतृत्वमा थिए।

स्कुल विभागको जिम्मेवारी बाँडफाँटका सन्दर्भमा पूर्वमाओवादी केन्द्रमा एकमत देखिन्छ। पूर्व–एमालेमा भने दाबी गर्नेको संख्या बढ्दै गएको छ। पूर्व–माओवादी केन्द्रले प्रवक्ता तथा सचिवालय सदस्य श्रेष्ठलाई प्रस्ताव गरेको छ।

पूर्व–एमालेमा भने चारजना आकांक्षी देखिएका छन्। स्कुल विभाग प्रमुखमा झलनाथ खनाल, ईश्वर पोखरेल, घनश्याम भुसाल र बेदुराम भुसालको नाम चर्चामा छ। सबैलाई मान्य हुने अनुमानमा खनालको नाम आए पनि पूर्व– माओवादीले स्कुल विभाग आफूसँगै राख्न चाहेपछि जटिलता थपिएको हो।

दुवै पक्षले स्कुल विभागको नेतृत्व आफ्नो भागमा पार्नुलाई प्रतिष्ठाको विषय बनाउँदै गएका छन्। स्कुल विभाग पार्टीको सिद्धान्त तथा नीतिबारे पार्टी पंक्तिलाई प्रशिक्षण दिने केन्द्रीय निकाय हो।

नेकपाको नियमावलीले नै पार्टीका सिद्धान्त, कार्यक्रम र नीतिअनुरूप स्कुल विभाग सञ्चालन गर्ने भनेको छ। यसअनुसार कार्ययोजना बनाउने, वैचारिक स्तर उठाउन काम गर्ने, प्रशिक्षक तथा विशेषज्ञ तयार पार्ने काम विभागको हुनेछ।

त्यस्तै, पाठ्यक्रम निर्माण गर्ने, प्रकाशन गर्ने, परीक्षा लिने तथा प्रमाणपत्र दिने काम पनि विभागले गर्न सक्ने नियमावलीमा छ। स्कुल विभागले विदेशका स्कुल विभागहरूसँग पनि समन्वयमा काम गर्न सक्ने प्रावधान छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *