आज साँझ ७ बजे भारतीय क्रिकेट टिमको मुख्य कोच घोषणा हुने, को कति बलियो ?
काठमाडौं। भारतीय क्रिकेट टिमको मुख्य कोचको घोषणा आज बेलुकी ७ बजे हुनेछ । मुम्बइमा कपिल देवको नेतृत्वमा क्रिकेट एडभाइजरी काउन्सिलले ६ जर्ना सर्टलिस्ट गरिएका उम्मेदवारको अन्तरवार्ता लिइरहेको छ ।
वर्तमान कोच रवि शास्त्री अहिले वेष्ट इण्डिजमा छन् । यस्तोमा उनी भिडियो कन्फ्रेन्सबाट अन्तरवार्तामा सहभागी हुनेछन् । शास्त्रीका अलावा न्यूजिल्याण्डका पूर्व कोच माइक हेसन, अस्ट्रेलियाका पूर्व अलराउण्डर टम मुडी, वेष्ट इण्डिजका पूर्व ओपनर फिल सिमंस, भारतका पूर्व म्यानेजर लालचंद राजपुत र भारतका पूर्व फिल्डिङ कोच रबिन सिंह सर्टलिस्टमा छन् ।
क्रिकेट एडभाइजरी बोर्डमा कपिल देवसँगै भारतका पूर्व ओपनर अंशुमन गायकवाड र महिला क्रिकेट टिमकी पूर्वकप्तान शान्ता रंगास्वामी छन् । अहिलेसम्मको अनुमानअनुसार वर्तमान कोच रवि शास्त्रीकै कार्यकाल बढ्ने अपेक्षा गरिएको छ । उनी कप्तान विराट कोहलीको पनि रोजाइ हुन् । वेष्ट इण्डिज जानुअघि कोहलीले टिम शास्त्रीसँग खुसी भएको बताएका थिए । शास्त्री र वर्तमान कोचिङ स्टाफको कार्यकाल विश्वकपपछि सकिएको थियो तर बोर्डले शात्रीको कार्यकाल ४५ दिन बढाएको थियो ।
कसको उपलब्धी कति छ ?
५७ वर्षका रवि शास्त्रीले कोचको रुपमा आफूलाई प्रमाणित गर्न ४ ठूला मौका पाएका थिए । दक्षिण अफ्रिका, इङल्याण्ड र अस्ट्रेलियामा टेस्ट सिरिज र विश्वकप गरी चार मौकामा ३ मिशनमा उनी फेल भए । भारतले दक्षिण अफ्रिका र इङल्याण्डसँग टेस्ट सिरिज जित्न सकेन । विश्वकपमा समेत भारतले फाइनलमा स्थान बनाउन सकेन । शास्त्रीको एकमात्र ठूलो उपलब्धी भनेको अस्ट्रेलियासँग टेस्ट सिरिज जित्नु हो ।
अस्ट्रेलियाका पूर्व अलराउण्डर टम मुडी २००५ मा श्रीलंकाका कोच बनेका थिए । उनको प्रशिक्षणमा श्रीलंका २००७ को विश्वकप फाइनलसम्म पुगेको थियो । उनी आइपिएसमा किंग्स ११ पंजाब र सनराइजर्स हैदराबादका कोच रहे । उनको प्रशिक्षणमा हैदराबादले २०१६ मा आइपिएलको उपाधि जितेको थियो ।
माइक हेसन ६ वर्षसम्म न्यूजिल्याण्डका कोच थिए । उनको प्रशिक्षणमा न्यूजिल्याण्ड २०१५ मा विश्वकपको फाइनल पुगेको थियो । त्यतिबेला न्यूजिल्याण्ड अट्रेलियासँग फाइनलमा हारेको थियो । गत वर्ष उनले कोच पदबाट राजीनामा दिएका थिए । त्यसपछि उनी आइपिएल टिम किंग्स ११ पंजाबका कोच भए ।
वेष्ट इण्डिजका फिल सिमंस २००४ मा जिम्बाब्बेका कोच बनेका थिए । २००७ विश्वकपपछि उनलाई आयरल्याण्डको कोच बनाइयो । सिमंसले आयरल्याण्डलाई २२४ म्याचमा प्रशिक्षण दिए । २०१५ मा सिमंस वेष्ट इण्डिजका कोच बने । उनको प्रशिक्षणमा वेष्ट इण्डिजले २०१६ को टि–२० विश्वकप जित्यो ।
लालचन्द राजपुत २००७ मा टि–२० विश्वकप जित्ने भारतीय टिमका म्यानेजर थिए । यो टिमले २००८ मा अस्ट्रेलियामा सीबी सिरिज पनि जितेको थियो । मुम्बइका पूर्व ओपनर लालचंदले भारतको लागि २ टेस्ट र ४ एकदिवसीय खेलेका छन् । उनले कोचिङ करिअरको सुरुवात अण्डर १९ टिमबाट गरेका थिए । २००७ मा इङल्याण्ड टुरका लागि उनलाई भारतीय अण्डर १९ टिमको कोच बनाइएको थियो ।
रबिन सिंह भारतीय टिमका पूर्व फिल्डिङ कोच थिए । उनी २००७–०९ मा भारतीय टिमको फिल्डिङ कोच बने । त्यसपछि २००८ मै आइपिएलको पहिलो सिजनमा डेक्कन चार्जर्सका कोच बने । उनलाई २०१० मा मुम्बइ इण्डियन्सले ३ वर्षका लागि कोच बनायो । उनको प्रशिक्षणमा मुम्बइ २०१० मा उपविजेता बन्यो ।
Facebook Comment