विश्वकप लिग–२ः ओमानको लगातार दोस्रो जित

डिसी नेपाल
३२ साउन २०७६ ९:३३

एजेन्सी – आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान,पप्पुवा न्युगिनी र स्कटल्यान्डबीच त्रिकोणात्मक सिरिज जारी छ । जसअन्तर्गत ओमानले स्कटल्यान्डमाथि ८ विकेटको सहज जित निकालेको छ । स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ६९ रनको लक्ष्य ओमानले ४५.१ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्दै जित निकालेको हो ।

ओमानको सहज जितमा खवर अलीले १ सय ४० बलमा ५ चौका र २ छक्का सहित ७९ रनमा अविजित रहँदै जित पक्का गरे । त्यस्तै युवा खेलाडी अकिव इलियास ९२ बलमा ४ चौका सहित ६१ रन बनाए। स्कटल्यान्डका लागि मार्क वाट्ट र अदिन्द निल्लीले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको स्कटल्यान्डले ४४.४ ओभरमा अल आउट हुँदै १ सय ६८ रन मात्रै जोडेको थियो । उसका लागि कप्तान काइल कोट्जरले सर्वाधिक ५६ रनको योगदान दिए । त्यस्तै विकेटकीपर मेथ्यु क्रोस ३३, क्रेग वालेस ३६ र सयाफन शरिफले १२ रन जोड्न बाहेक अन्यले राम्रो गर्न सकेनन् ।

ओमानका लागि खवर अलीले ९ ओभरमा १ मेडन सहित ४ विकेट लिए । त्यस्तै अमिर कलिम,जेशन मकसुदले समान २ विकेट लिए । फायज बुट र अकिब अलियासले समान १ विकेट लिए । यसअघि पहिलो खेलमा पप्पुवा न्युगिनीलाई ओमानले ४ विकेटले पराजित गरेको थियो ।

विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान, नामिविया, पप्पुवा न्युगिनी, स्कटल्यान्ड, यूएई र अमेरिका गरि ७ टोली रहेका छन् । झन्डै साढें २ वर्ष चल्ने लिगमा सबैले एक अर्कासँग त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका शीर्ष तीन टोली सन् २०२२ मा हुने आईसीसी विश्वकप क्वालिफायरको लागि छनोट हुने छन् । पुछारका चार टोलीले विश्वकप छनोट प्ले अफ खेल्ने छन् ।

नेपालले पहिलो विश्वकप लिग २ अन्तर्गत आगमी माघमा घरेलु मैदान टियुमा ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्दै सुरुवात गर्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *