सधैं साथमै रहने छोरी, बुहारी, नातिनातिनीको मुख देख्नै नपाइ सुभद्राले प्राण त्यागिन्
काठमाडौं। नेपाली चलचित्र उद्योगकी बरिष्ठ कलाकार सुभद्रा अधिकारीको आज ७३ वर्षको उमेरमा निधन भएको छ । ७३ वर्षकी अधिकारीको आज बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भयो । यो दुखद् खबरले नेपाली कलाक्षेत्रसँगै आम नेपाली स्तब्ध भएका छन् । अधिकारीको आज पशुपति आर्यघाटमा १ बजेदेखि ३ बजेसम्म श्रद्धाञ्जली अर्पणपछि अन्तिम संस्कारको कार्यक्रम राखिएको छ ।
सुभद्राको निधनमा अर्को दुखद् संयोग पनि पर्यो । जीवनभर खुसीसाथ आफूसँगै रहेका छोरी, बुहारी नातीनातिनीलाई उनले अन्तिम समयमा देख्न पाइनन् । यी सबैको मुख देख्न नपाइ उनको प्राण गयो । सुभद्राको अन्तिम समयमा उनका छोरा सुनील मात्र उनको साथमा थिए ।
सुभद्राका छोरा सुनीललाई छाडेर उनको सबै परिवार र छोरीको सबै परिवार हिजो मात्र मनकामना गएका थिए । उनीहरु हिजो उतै बसेका थिए । उनीहरु फर्किन नपाउँदै यता सुभद्राले अन्तिम सास फेरिन् । उनीहरु अहिले फर्किंदैछन् । उनीहरु फर्किंदै गर्दा सुभद्राको पार्थिव शरीरलाई पशुपति आर्यघाट पुर्याइएको छ । उनीहरु सिधै आर्यघाट जाँदैछन् ।
Facebook Comment