कार्यकर्ता विचार र नीतिका पछाडि लागे गुटबन्दी अन्त्य हुन्छ : उपसभापति निधि

डिसी नेपाल
१ भदौ २०७६ ६:४०

पोखरा । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीमा विद्यमान गुटबन्दी अन्त्यका लागि पार्टीका कार्यकर्ता यो वा त्यो नभनी विचार र नीतिका पछाडि लाग्नुपर्नेमा जोड दिएका छन्।

नेपाली काङ्ग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा शुक्रबारदेखि पोखरामा जारी महाधिवेशन प्रतिनिधिको दुई दिने प्रशिक्षण कार्यक्रमको आज आयोजित समापन कार्यक्रममा उनले पार्टीमा विद्यमान अन्तरघात र गुटबन्दीलाई अन्त्य गर्नुपर्ने बताए ।

“पार्टीको विचार, सिद्धान्त र नीतिलाई आत्मसात गर्दै अघि बढेमा त्यससँगै गुटबन्दी स्वतः अन्त्य हुन्छ”, उनले भने, “पार्टीको प्रत्येक कार्यकर्ताले व्यक्तिभन्दा विचारलाई प्राथमिकता दिनुपर्छ, गुटबन्दीको अन्त्य सँगै अन्तरघात स्वतः कम हुन्छ।” आशन्न उपनिर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गर्दै उनले आपसी मतभेदलाई बिर्सेर पार्टीका पक्षमा जनमत बनाउन र मतदाता केन्द्रित हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा डा. जगदीशचन्द्र पोखरेल, डा. गोविन्द पाखरेल, डा. आरजु राणालगायतले विविध विषयमा प्रशिक्षण दिएका थिए। शुक्रबारदेखि शुरु दुईदिने प्रशिक्षणमा गण्डकी प्रदेशका ११ जिल्लाबाट २०० भन्दाबढी महाधिवेशन प्रतिनिधिको सहभागिता रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *