प्राधिकरणले आर्जन गरेको मुनाफाबाट कर्मचारीलाई बोनस
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ३४ औ बार्षिक उत्सवको अवसरमा कर्मचारीहरुलाई बोनस दिने भएको छ।
आईतबार प्रज्ञाप्रतिष्ठानमा आयोजित प्राधिकरणको ३४ औ बार्षिकोत्सवको विशेष समारोहलाई सम्बोधन गर्दै उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले प्राधिकरणले आर्जन गरेको मुनाफाबाट कर्मचारीलाई बोनस उपलब्ध गराउने निर्णय भएको जानकारी दिएका हुन्।
उनले सबै तहका कर्मचारीलाई जनही ७ हजारका दरले मुनाफा दिईने बताए। निजामति कर्मचारीका लागि सरकारले वृद्धि गरेकै अनुपातमा सबै कर्मचारीको मासिक तलब भत्ता पनि बृद्धि गरिएको उहाँले जानकारी दिए।
त्यसैगरी महंगी भत्ता बापत सबै कर्मचारीले प्रति महिना थप २ हजार पाउने भएका छन्। यसअघि प्राधिकरणले कर्मचारीहरुको मंहगी भत्ता रोकेको थियो। मन्त्री पुनले प्राधिकरण नाफामा जानु र त्यहाँ कार्यरत कर्मचारीको पनि सेवा सुविधा बढ्नुले यो बर्ष गौरवको र उपलब्धिको बर्ष भएको भन्दै खुसी व्यक्त गरे।
प्राधिकरणले आर्थिक बर्ष २०७५/७६ मा ७ अर्ब २० करोड नाफा कमाएको छ। उर्जामा उल्लेख्य सफलता प्राप्त गरेको र गौरवको बर्ष भन्दै मन्त्रीले खुसी व्यक्त गरिरहदा उहाँले नै सम्बोधन गरेको समयमा विद्युत् आपुर्तिमा अवरोध भएको थियो । मन्त्रीको सम्बोधनको क्रममा दुई पटक सम्म ठुलो आवाज आउदै विद्युत अवरोध हुदै गरेको थियो।
उर्जा मन्त्री नै बोल्ने क्रममा विद्युत् आपुर्तिमा अवरोध देखिएपछि दर्शक दीर्घामा बसेकाहरुले हुटिङ गरेका थिए। केही समय अघि प्रतिनिधिसभाको बैठकमा उर्जामन्त्री पुनले सम्बोधन गर्ने क्रममा पनि विद्युत् आपुर्तिमा अवरोध आएको थियो।
Facebook Comment