प्रतिनिधिसभा बैठक : क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण

डिसी नेपाल
३ भदौ २०७६ १४:०२

काठमाडौं। सांसदहरुले समसामयिक विषय र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।  प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले बाढीले बिगारेको सडक मर्मत, बाढी प्रभावितका लागि उचित राहत दिन, विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्दा राजनीतिक भागवण्डा नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले राजधानी लगायतका मुलुकका विभिन्न स्थानको सडकको अवस्था अत्यन्तै नाजुक रहेको भन्दै समयमै मर्मत संभारको लागि सरकारको ध्यानाकर्षण गराए। सितापाईला–रामकोट –भीमढुंगा सडक निर्माणको काम अघि नबढेको तथा चावहिल जोरपार्टी हुँदै बौद्ध जानेलगायत राजधानीका सडकहरुको अवस्था नाजुक रहेको भन्दै समयमै मर्मत कार्य गर्नेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

उनले साइकल लेनहरुको अभावका कारण काठमाडौंमा साइकल चढ्ने नागरिकले दुख पाइरहेको उल्लेख गर्दै साईकल लेनको उपयुक्त व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए।

नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिना जुम्लाको विद्युत् प्रसारण अवरुद्ध भएको बारे सदनमा आवाज उठाउँदा पनि सम्बोधन नभएको उल्लेख गर्दे शक्तिशाली सरकारले सदनको आवाज नसुनेकोमा गम्भीर ध्यानाकर्षण गराए। उनले अबिरल बर्षाका कारण बाढी र डुबानबाट सबैभन्दा बढी क्षति पुगेको रौतहटका जनताले एक ढिक्का नुन पनि नपाएको भन्दै यथाशिघ्र राहत र पुर्नस्थापनाको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए।

सांसद भीमसेनदास प्रधानले राष्ट्रिय शिक्षा आयोगको प्रातिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले विश्व विद्यालयका पदाधिकारी राजनीतिक नियुक्तिबाट नगरी बौद्धिकताको आधारमा गर्न मन्त्रालयको ध्यानाकर्षण गराए।

राजपाका सांसद अमृता अग्रहरीले आफूहरुको माग सम्बोधन नगरे सरकार विरुद्ध सडकमा उत्रने चेतावनी दिइन्। गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक पटक प्रतिवद्धता जाहेर गरेर पनि अहिलेसम्म सार्वजनिक नभएको भन्दै उनले मुलुकमा विद्रोहलाई निम्ता दिने काम नगर्न सरकारको ध्यानाकर्षण गराइन्।

संघीय समाजवादी फोरमका सांसद प्रदिप यादवले लोकसेवा आयोगले निकालेको विज्ञापन संघीयताको मर्म र भावना विपरित रहेको भन्दै असमानता कायमै राख्ने हो भने मुलुकमा संघीयता के–का लागि आयो भनी प्रश्न गरे। उनले आरक्षण बचाउ अभियान अन्र्तगतको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेकोमा गम्भीर आपत्ति जनाउदै उनले अधिकारको लडाई जारी राख्ने चेतावनी दिए।

नेकपाका सांसद मोहन बाँनियाले मुगु जिल्लाको खत्याड गाउपालिका वडा नम्बर ३ को भवन र केन्द्रको बारेमा सांसद प्रकाश रसाइली स्नेहीर्ले गलत सूचना दिएको भन्दै आफ्नो भनाइ फिर्ता लिन ध्यानाकर्षण गराए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *