रवि लामिछानेलाई थप २० दिन हिरासतमा राख्न माग, अदालतमा बहस जारी

डिसी नेपाल
३ भदौ २०७६ १४:२५

चितवन। चितवन प्रहरीले चितवन जिल्ला अदालतसँग रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथि अनुसन्धान पूरा नभएको जनाउँदै उनीहरुलाई थप अनुसन्धानको लागि २० दिन हिरासतमा राख्न माग गरेको छ । सरकारी वकिल कार्यालयमार्फत प्रहरीले यस्तो माग गरेको हो ।

यसअघि शुक्रबार यी तीनै जना अभियुक्तलाई अदालत पेश गरिएको थियो । शुक्रबार थुनछेकको बहसपछि अदालतले ५ दिन अनुसन्धानको लागि हिरासतमा राख्न अनुमति दिएको थियो । त्यो समय हिजो सकिएको छ । आज प्रहरीले २० दिन हिरासतमा राख्न माग गरेको छ । आज प्रहरीले मागेको समय प्रहरीले हिरासतमा राख्न पाउने अधिकतम समय हो ।

यदि प्रहरीले आज २० दिन हिरासतमा राख्ने अनुमति पाएमा अर्को पटक अदालत पेश गर्दा अदालतले या त उनीहरुलाई छाड्ने आदेश दिनुपर्ने हुन्छ या त जेल चलान गर्नुपर्ने हुन्छ । प्रहरीले कुनै पनि अभियुक्तलाई २५ दिन भन्दा बढी हिरासतमा राख्न पाउँदैन । २५ दिन पूरा भएपछि अभियुक्तलाई छाड्ने वा जेल चलान गर्ने दुई विकल्प मात्र बाँकी रहन्छन् ।

अदालतमा थुनछेकको बहस जारी छ । आज अदालतको कार्यालय समय सकिँदासम्ममा यस विषयमा आदेश आउने अपेक्षा गरिएको छ । भित्र बहस चलिरहँदा बाहिर समर्थकहरु आदेशको प्रतिक्षामा छन् । दलहरुले अराजक आन्दोलनमा संलग्न नहुन निर्देशन दिएपछि आजको समर्थकहरुको भीड हिजो अस्तीभन्दा संयमित देखिएको छ । भरतपुरको मालपोत चोक, चौबीसकोठी चोक र अदालतअगाडि रविको पक्षमा निरन्तर भाषण र प्रदर्शन भइरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *