इन्द्रजात्रा अवलोकन गर्न पाँच नगर प्रमुख काठमाडौँ आउने

डिसी नेपाल
३ भदौ २०७६ २०:१२

काठमाडौं । यस वर्ष इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका नगरका झण्डै ४८ जना पाहुना काठमाडौँ आउने भएका छन्।

आगामी २७ गते पर्ने सो पर्वका अवसरमा छ देशका १३ नगरबाट पाँच प्रमुखसहित ४८ पाहुना आउने निश्चित भएको कामपाले जनाएको छ।

महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयले महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई भेटेर सचिवालयको तयारीका विषयमा जानकारी दिएको छ। सचिवालयले गत सात महीना पहिलेदेखि इन्द्रजात्रा अवलोकनका लागि भगिनी सम्बन्ध भएका नगर प्रमुखहरुलाई निमन्त्रणा पठाउन थालेको थियो।

यसै निमन्त्रणाका आधारमा अहिलेसम्म चीनको ल्हासाका प्रमुख गुहेओ गुहेओ, बङ्गलादेशको ढाका साउथ सिटी कर्पोरेशनका प्रमुख मोहम्मद सहिद खोकन, भूटानको थिम्पु नगरका प्रमुख किन्ले दोर्जे आउने निधो भएको छ।

त्यस्तै, भारतको इष्ट दिल्ली म्युनिसिपल कर्पोरेशनका प्रमुख अञ्जु कमलकान्त र नर्थ दिल्ली म्युनिसिपलबाट प्रमुख सरदार अभतार सिंहको नेतृत्वको टोली जात्रा अवलोकन गर्न आउने पत्र प्राप्त भएको छ।

त्यस्तै चीनबाट सियान, छेन्दु, सेञ्जेन, नान्जिन र लाञ्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकवर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा जात्रा अवलोकन टोली काठमाडौँ आउने बताइएको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेले जात्रा अवलोकन गर्न आउने पाहुनाले इन्द्रजात्राका मूर्त अमूर्त पक्षको अवलोकन गर्ने बताए।

पाहुनाहरूलाई वसन्तपुरलगायत कामपाको भित्री शहरी क्षेत्र, स्वयम्भू र बौद्धनाथ क्षेत्र, चन्द्रागिरि, ललितपुरको पाटन र भक्तपुरको दरबार स्क्वायरको भ्रमण गराइने उहाँले जानकारी दिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *