विश्वकप लिग–२ः पहिलो सिरिजमा स्कटल्यान्ड र ओमानको समान अंक, नेपालको खेल कहिले ?
एजेन्सी । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत पहिलो त्रिकोणीय सिरिजमा स्कटल्यान्ड र ओमानले समान ३–३ खेलमा जित हात पारेको छ। सिरिजको अर्को टिम पपुवा न्युगिनी (पिएनजी) भने चारै खेलमा पराजित भएको छ।
स्कटल्यान्डमा भएको सिरिजमा तीन वटै टिम एकआपसमा २–२ पटक भिडेका थिए। जसमा स्कटल्यान्ड र ओमानले एकअर्काविरुद्ध १–१ खेल गुमाए। बुधबार भएको अन्तिम खेलमा ओमानले पिएनजीलाई ४ विकेटले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको पिएनजीले ९ विकेटको क्षतिमा २०६ रन जोड्यो। ओमानले ६ विकेटको क्षतिमा १४ बल खेल्न बाँकी छदा लक्ष्य भेट्टायो। सिरिजको समाप्तीसँगै स्कटल्यान्ड र ओमानले ४ खेलमा समान ६–६ अंक जोडेका छन्। तर रनरेटमा स्कटल्यान्ड अघि छ। पिएनजी अंकबिहीन छ।
चार वर्षपछि भारतमा हुने एकदिवसीय विश्वकपको छनोटको रुपमा रहेको क्रिकेट विश्वकप लिग–२ सुरु भएको हो। लिग–२ मा नेपालसहित ७ देशबीच त्रिकोणीय सिरिज हुनेछ। ७ वटा एकदिवसीय टिमबीच २१ वटा त्रिकोणीय सिरिज सार्वजनिक हुने आइसिसीले यसअघि नै गरेको थियो।
लिग–२ मा नेपालसहित नामिबिया, ओमान, पपुवा न्युगिनी (पिएनजी), स्कटल्यान्ड, युएई र अमेरिका छन्। एक सिरिजमा ६ एकदिवसीय खेल हुनेछन् भने एक टिमले चार खेल खेल्नेछ। प्रत्येक टिमले साढे २ वर्षको बीचमा ३६ वटा खेल खेल्नेछन्।
नेपालले पहिलो सिरिज घरेलु मैदानमा खेल्नेछ। कीर्तिपुरस्थित टियु मैदानमा हुने सिरिजमा नेपाल, अमेरिका र ओमानबीच खेल हुनेछ। सो सिरिज आगामी फेब्रुअरीमा हुनेछ।
Facebook Comment