काङ्ग्रेस संसदीय व्यवस्थामा अडिग छ : डा कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काङ्ग्रेस संसदीय व्यवस्थामा अडिग रहेको बताएका छन्।
जनअधिकार अभियान नेपालद्वारा आज यहाँ आयोजित वर्तमान राजनीतिक परिस्थिति र मानव अधिकार विषयक अन्तर्क्रिया उनले काङ्ग्रेस नेतत्वका सरकारले विगतमा ल्याएको उदार अर्थतन्त्रकै कारण मुलुकमा आर्थिक क्रियाकलाप बढेको बताए।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किराँतीले जनआन्दोलनका उपलब्धिलाई रक्षा गर्नुपर्ने र संविधानमा रहेका त्रुटीलाई सच्याउँदै लैजानुपर्नेमा जोड दिए।
नेपाल कम्युनिष्ट पार्टीका नेता डिसी नेपालले सरकारले जनताको हितमा काम गरी मानव अधिकारको रक्षा गर्नुपर्ने बताए। राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द पौडेलले मानव अधिकारबिना लोकतन्त्रको शोभा नबढ्ने विचार व्यक्त गरे।
कार्यक्रममा कम्युनिष्ट नेता रामरिझन यादव, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य उत्तम तिमल्सिना, अधिवक्ता विपुलेन्द्र चक्रवर्ती, लेखक एवं विश्लेषक नरेन्द्र जम्मकट्टेललगायतले सरकारले नेपाली जनताको चाहना र आकांक्षाअनुसार काम गर्नुपर्ने सुझाव दिए।
सो अवसरमा अभियानका अध्यक्ष एकराज भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए। रासस
Facebook Comment