बर्दिया कारागारमा क्षमताभन्दा बढी कैदी

धम्बोझी। बर्दियाको कारागारमा क्षमताभन्दा बढी कैदी भएपछि कैदी बन्दीलाईसँगै जेल प्रशासनलाई पनि व्यवस्थापनको समस्या भएको छ। जिल्लाको एकमात्र कारागारमा १०० पुरुष र २५ महिला गरी १२५ को क्षमता रहे पनि अहिले २६० पुरुष र १२ महिलासहित २७२ कैदीबन्दी रहेका छन्।
जिल्ला कारागार बर्दियाका निमित्त जेलर डिल्ली पौडेलले कारागारको भवन पुरानो र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समस्या भइरहेको बताए। उनले भने, “बर्दिया जिल्लामा घर भएका कैदी अन्यत्र जान नचाहेकाले पनि क्षमताभन्दा बढी कैदीबन्दी राख्दा समस्या आएको छ ।’’
कारागारको क्षमताभन्दा बढी कैदी बन्दी हुँदा आफूहरुले अनेक समस्या झेल्नु परेको बन्दीको गुनासो छ। क्षमताभन्दा बढी कैदी बन्दी भएपछि शौचालय, विद्युत्, खानेपानी र स्वास्थ्योपचारमा समस्या हुने गरेको कारागारका बन्दी सुमन थारुले बताए। उनी भन्छन्, ‘‘शौचालय जानसमेत पालो पर्खनु परेको छ। पर्याप्त पानी नहुँदा दुर्गन्ध फैलने गर्दछ ।’’
Facebook Comment