उपचारका क्रममा सुत्केरीको मृत्यु

बाजुरा। मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ। बडीमालिका नगरपालिका–७ जिल्ली निवासी कृष्ण नेपालीकी २१ वर्षीया श्रीमती वसन्तीको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला अस्पतालको प्रसूति केन्द्रमा स्वास्थ्यकर्मीले उपचार गरिरहेका बेला उनको एक्कासि मृत्यु भएको आफन्त प्रेम नेपालीले बताए। शुक्रबार साँझ सुत्केरी व्यथाले च्यापेपछि उनलाई आफन्तले अस्पताल ल्याएका थिए।
अस्पताल पुगेलगत्तै सुत्केरी व्यथा लागेकी वसन्तीको डाक्टरले प्रसूति कक्षमा लगेर उपचार गरिरहेका थिए। आज बिहान उनले दोस्रो सन्तानका रुपमा छोरालाई मृत अवस्था जन्म दिएकी थिइन्।
सुत्केरी महिलाको शरीरबाट अत्यधिक मात्रामा रगत बगिसकेको उपचारमा संलग्न डाक्टर दुर्गाराज महर्जनले बताए।
गत साउन २६ गते अस्पतालमा डाक्टरले सुत्केरीको अवस्थाबारे बुझेपछि उनलाई भदौ २ गते सुत्केरी गराउनका लागि ल्याउनुपर्ने सल्लाह दिए पनि आफन्तले उनलाई यही भदौ ६ गतेमात्र अस्पताल पु-याएका थिए। आफन्तले भने डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन्।
Facebook Comment