साहित्य सन्ध्या पुरस्कार चन्द्र भण्डारीलाई

डिसी नेपाल
७ भदौ २०७६ २०:०१

काठमाडौं । साहित्य सन्ध्या नेपालले प्रगतिवादी लेखक तथा प्रसारक एवं अभियानकर्मी चन्द्र भण्डारीलाई विसं २०७५ को साहित्य सन्ध्या पुरस्कार तथा सम्मान प्रदान गरेको छ।

सन्ध्याले आज यहाँ आयोजना गरेको कार्यक्रममा ‘साहित्य सन्ध्या मन’ पुरस्कार विष्णुप्रसाद पोखरेल, ‘साहित्य सन्ध्या–कृवा’ पुरस्कार वसन्ता शर्मा आचार्य, ‘साहित्य सन्ध्या हरिप्रिया हरिप्रसाद चापागाईं नियात्रा पुरस्कार’ अच्युत घिमिरेलाई प्रदान गरिएको छ।

सो अवसरमा साहित्यकार ‘आनन्ददेव भट्टको जीवन वृत्त’ र नर्मदेश्वरी सत्यालको ‘भूमिका र समीक्षा’ कृतिको लोकार्पणसमेत गरिएको थियो।

पूर्वमन्त्री मोदनाथ प्रश्रितले अबको साहित्य लेखन विज्ञान र प्रविधिको क्षेत्रमा केन्द्रित हुनुपर्ने बताए। “किताबको भारी बोक्ने आज कालका विद्यार्थीले १० कक्षा उत्तीर्ण गर्दा के जाने भन्न सकिने अवस्था छैन, व्यावसायिक एवं प्रयोगात्मक पाठ्यक्रम निर्माण हुन नसक्दा यस्तो भएको हो, अब यसको सुधार हुनुपर्छ, एउटा विषयमा विज्ञ बनाउने गरी पाठ्यक्रम निर्माण गरिनुपर्छ”, पूर्वशिक्षामन्त्रीसमेत रहेका उनले भने।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली साहित्य क्षेत्रलाई नयाँ ढङ्गले अघि बढाउन लागिएको बताए। ‘असोज २८ देखि कात्तिक ३ गतेसम्म काठमाडौँमा नेपाल, भारत, चीन, बङ्गलादेशलगायत देशका साहित्यकारको दोस्रो सम्मेलन गरिँदैछ, यसको पहिलो सम्मेलन चीनमा गरिएको थियो, सम्मेलनमा ती देशका तर्फबाट कार्यपत्र प्रस्तुत गरिनेछ’, उनले भने।

भण्डारीलाई प्रदान गरिएको पुरस्कारको राशि रु १५ हजार छ भने अन्य साहित्यकारलाई प्रदान गरिएको पुरस्कारको राशि १० हजार नगद, प्रमाण पत्र छ। कार्यक्रममा डा देवी नेपाल, प्रा हेमनाथ पौडेल, सन्ध्याका अध्यक्ष राम विनय, देवी लुइँटेल, रमेश पोखरेल लगायतका वक्ताले नेपाली साहित्यको उन्नयनका लागि खोज साहित्यमा जोड दिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *