बागलुङ समाजद्वारा तीन महिला सम्मानित

डिसी नेपाल
८ भदौ २०७६ ७:४३

पोखरा । बागलुङ समाज पोखराले हरितालिका तीजको अवसरमा विभिन्न क्षेत्रका तीन महिलालाई सम्मान गरेको छ। शनिबार बागलुङ समाज पोखराद्वारा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा बागलुङमा जन्मिएर पोखरामा कर्म गरेर सामाजिक क्षेत्रमा पहिचान बनाउन सफल तीन महिलालाई समाजले सम्मान गरेको हो।

सम्मानित हुनेहरुमा गण्डकी प्रदेश नीति तथा कार्यक्रमका सदस्य डा भीमा ढुङ्गाना, सञ्चारिका समूह गण्डकी प्रदेशका निर्वतमान अध्यक्ष जमुना वर्षा शर्मा र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा रहेका छन्। उनीहरुलाई गण्डकी प्रदेशसभा सदस्य पियारी थापाले सम्मानपत्र र दोसल्लासहित सम्मान गरेका थिए।

कार्यक्रममा प्रदेशसभा सदस्य थापाले तीज पर्वको अवसरमा बागलुङे चेलीहरुको सामाजिक योगदानको मूल्याकङ्न गरी सम्मान गर्नु निकै सकारात्मक कार्य भएको बताए। अर्का प्रदेशसभा सदस्य कोपिला बोहोराले सामाजिक सद्भाव र सहिष्णुता कायम गर्दै पर्व मनाउनुपर्ने धारणा राखे।

वडा नं ८ का वडाध्यक्ष रुद्र बरालले तीज चेलिबेटीको जमघट र आत्मियता साटासाट गर्ने विशेष पर्व भएको बताए । उनले पर्वको सकारात्मक पक्षलाई ग्रहण गरेर अगाडि बढ्नुपर्ने धारणा राखे। समाजका पूर्वअध्यक्ष अमृतलाल श्रेष्ठ, बागलुङ समाज वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमला गिरी, वैदाम प्रहरीका प्रहरी निरीक्षक विजय भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमका सम्मानित व्यक्तित्वहरुले सम्मानले माइती ठाउँको मायालाई झनै प्रगाढ बनाउँदै कर्मप्रति थप लगनशील हुन प्रेरित गरेको विचार व्यक्त गरे। कार्यक्रममा बागलुड समाजका आजीवन सदस्य स्व प्रेमप्रसाद सापाकोटा स्मृति पुरस्कारबाट एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल आजीवन सदस्यका छोराछोरीमध्ये एसइईमा उत्कृष्ट नतिजा ल्याउन सफल मनोज श्रीस र विनिता पुनलाई नगदसहित सम्मान गरिएको थियो। उनीहरुलाई पुरस्कारका संरक्षक रीता सापकोटाले नगद प्रदान गरे । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *