पेनाल्टी चुक्दा युनाईटेडको अप्रत्यासित हार
एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड घरेलु मैदानमै पराजित भएको छ । शनिबार भएको खेलमा युनाईटेड क्रिस्टल प्यालेससँग २–१ गोल अन्तरले पराजित भएको हो ।
युनाईटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टललाई जित दिलाउन जोर्डन आयु र प्याट्रिक भ्यान एन्होल्टले एक एक गोल गरे । युनाईटेडका ड्यानिल जेम्सले एक गोल फर्काए । घरेलु मैदानमा बल पोजिसनमा पकड जमाएपनि युनाईटेड पहिलो हाफमै एक गोलले पछि परेको थियो । खेलको ३२ औं मिनेटमा जोर्डनको गोलबाट क्रिस्टलले अग्रता बनाएको थियो ।
दोस्रो हाफमा ७० औं मिनेटमा युनाईटेडले पेनाल्टीबाट बराबरी गर्ने अवसर पायो । तर, मार्कस राष्फोर्डले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो । त्यसपछि खेलको ८९ औं मिनेटमा जेम्सले गोल गर्दै युनाईटेडलाई १–१ गोलको बराबरीमा फर्काए । तर, खेलको इन्जुरी समयमा प्याट्रिकले गोल गर्दै क्रिस्टललाई २–१ को जित दिलाए ।
घरेलु मैदानमा पराजित भएसँगै युनाईटेडले ३ खेलबाट ४ अंक जोडेको छ । लिगमा युनाईटेडको यो पहिलो हार हो । पहिलो खेलमा जित निकालेको युनाईटेडले दोस्रो खेलमा बराबरी खेलेको थियो । युनाईटेड पाँचौ स्थानमा रहेको छ ।
यस्तै पहिलो जित निकालेको क्रिस्टलको पनि ४ अंक रहेको छ । क्रिस्टल लिगको १० औं स्थानमा छ । प्रिमियर लिग अन्तर्गत नै लेष्टर सिटीले शेफिल्ड यूनाईटेडलाई २–१ गोल अन्तरले गर्दै पहिलो जित निकालेको छ । त्यस्तै साउथह्याम्पटनले ब्राइटनलाई २–० र वेष्ट ह्यामले वाट्फोर्डलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।
Facebook Comment