उडिरहेको विमानमै चोरी गर्ने चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

डिसी नेपाल
८ भदौ २०७६ १२:२८

काठमाडौं। यही भदौ ४ गते यूरोपको टर्कीबाट एक नेपाली महिला र उनका डेनिस श्रीमान नेपालका लागि उडे। इस्तानबुलबाट टर्किस एअरलाइन्सको विमानबाट काठमाडौं आउनेक्रमा ती नेपाली महिलाले ह्याण्ड ब्यागमा विभिन्न देशको मुद्रा र चार वटा सुनको बाला राखेर उडिन्।

ती महिला नजिकैको सिटमा थिए, दुईजना चिनियाँ नागरिक। उडिरहेको विमानमा सबै यात्रु निदाएपछि चिनियाँ नागरिकको भने निद्रा खुल्यो। ती महिलाको ह्याण्ड ब्यागमा ठूलो मात्रामा नगद र सुन रहेको थाहा पाएका चिनियाँ नागरिकलाई त्यो कसरी चोर्ने भन्ने योजना बनाउँदा निद्रा नलागेको हो।

चिनियाँ नागरिक एमए क्वुई र हु जियाङ्जंगले त्यो ह्याण्ड ब्यागबाट यसरी चोरी गरेका थिए, चोरीबारे ती महिलाले दुई दिनपछिमात्र थाहा पाइन्। उनी शुक्रबार नोट सटही केन्द्रमा गएर मुद्रा सटही गर्न खोज्दा छाँगाबाट खसे जस्ती भइन्। सबै मुुद्रा कागजमा परिणत भएका थिए। ब्यागबाट ७ हजार यूरो, ५० हजार डेनिस क्राेनर र  ५० हजार नेपाली रुपैयाँ तथा ४ वटा सुनको बाला चोरी भयो।

आफ्नो यति सामान चोरी हुँदा पनि ती महिलाले चोरीबारे थाहा नपाउनुको कारण हो– चोरको योजना। प्रहरीका अनुसार चिनियाँ नागरिकहरले ह्याण्ड ब्यागमा रहेको मुद्रा बराबरकै कागजलाई बाहिरबाट एक नोट लपेटेर जस्ताको तस्तै बनाएर राखेका थिए। जब ती महिला काठमाडौंको एक नोट सटही काउन्टरमा पुगिन अनि मात्र चोरी भएको थाहा पाइन्।

ती महिलाका डेनिस श्रीमान जेन यूलिक्स बेनादिनले त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा रहेको पर्यटन प्रहरीलाई सम्पर्क गरे। पर्यटन प्रहरी र विमानस्थल प्रहरीको सहयोगमा टर्किस एअरलाइन्सका सो दिनका यात्रुबारे जानकारी लिइयो।

प्रहरीले उनीहरु बसेको ठमेलस्थित होटल पनि पत्ता लगायो। उनीहरु शनिबार विहानै चीन फर्किन लाग्दा विमानस्थलबाट प्रहरीको फन्दामा परे। प्रहरी वृत्त गौशाला र विमानस्थल प्रहरीले उनीहरुलाई शनिबार विमानसथलबाट चोरिएको सामानसहित नियन्त्रणमा लिएको हो।

त्यहाँ रहेका दुईजना शंकास्पद चिनियाँ नागरिकको पछाडि लाग्यो प्रहरी। प्रहरीले ४ गतेको त्रिभुवन विमानस्थलको आगमनतर्फको सीसी क्यामेरा हेर्दा ती चिनियाँ नागरिकले विमानस्थलबाट बाहिरिँदा विभिन्न कर्मचारीलाई टिप्ससमेत दिएको देखियो।

यसपछि प्रहरीले उनीहरु बसेको ठमेलस्थित होटल पनि पत्ता लगायो। उनीहरु शनिबार विहानै चीन फर्किन लाग्दा विमानस्थलबाट प्रहरीको फन्दामा परे। प्रहरी वृत्त गौशाला र विमानस्थल प्रहरीले उनीहरुलाई शनिबार विमानसथलबाट चोरिएको सामानसहित नियन्त्रणमा लिएको हो।

विमानस्थलमा उनीहरुलाई पक्राउ गर्नु पनि प्रहरीलाई त्यति सजिलो भने थिएन। किनकी उनीहरु नै चोर हुन भन्नेमा प्रहरी ढुक्क थिएन। विमानस्थलको एक्स रे मेशिनमा उनीहरुको लगेज जाँच गर्दा कुनै शंकासपद वस्तु फेला परेन। चोरिएको सुनको बाला उनीहरुले कहाँ लुकाए प्रहरीलाई पत्ता लगाउन झन गाह्रो भयो।

विना जानकारी उनीहरुको शरीर जाँच गर्ने कुरा भएन। चिनियाँ नागरिक अंग्रेजी र नेपाली बुझ्दैन थिए। नेपाली प्रहरीलाई चिनियाँ भाषा आउँदैथ्यो। यो भाषाको समस्या समधान गर्दै एक प्रहरीले गुगल ट्रान्सलेटरको सहयोग लिए। प्रहरीले शरीर जाँच गर्नेअनुमति लिए। उनीहरुको शरीर जाँच गर्दा चोरी भएको नगद र दुई वटा सुनको बाला प्रहरी बरामद गरेको छ।

चोरीको सामानसहित प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको प्रहरी वृत्त गौशालाका डीएसपी प्रदीपकु्मार सिंहले जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘हामीले सामान्य अनुसन्धान गरेर यो केश परिसरमा पठाएका छौं।’

काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले आइतबार यो केश परिसरमा आएको जानकारी दिँदै प्रारम्भिक अनुसन्धान भएको भएको बताए। उनले यसबारे थप जानकारी दिन समय लाग्ने बताए।  प्रहरीले पक्राउ परेका चिनियाँ नागरिक प्रोफेसनल चोर भएको हुन सक्ने बताएको छ। उनीहरुको साथबाट विभिन्न देशका मुद्रासमेत बरामद गरिएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *