रवि लामिछानेसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता, आज मुद्दा टुंगो लाग्न कठिन

डिसी नेपाल
८ भदौ २०७६ १५:३२

चितवन। टेलिभिजनकर्मी रवि लामिछानेसहित तीन जनाविरुद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ । आइतबार दिउँसो जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो । अनुसन्धानबाट प्राप्त प्रमाणको आधारमा आत्महत्या दुरुत्साहन मुद्दामा कारबाहीको माग गर्दै मुद्दा दर्ता भएको हो ।

यसअघि प्रहरीले अदालतबाट २ पटक ५–५ दिन म्याद लिएर १० दिनसम्म तीनैजनालाई हिरासतमा राखी अनुसन्धान गरेको थियो । प्रहरीले प्राप्त प्रमाणहरु सरकारी वकिलको कार्यालयमा आज बुझाएको थियो । प्रहरीले प्राप्त गरेका तथ्यहरुको आधारमा सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो । सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गर्दै रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्की दोषी देखिएको दावी गरेको छ ।

आज मुद्दा दर्ता गर्न ढिलाइ भएकोले आजै मुद्दाको टुंगो लाग्न कठिन छ । यद्यपि सार्वजनिक चासोको मुद्दा भएकोले अदालतले यसलाई प्राथमिकतामा राखेर सुनुवाइ गर्न सक्छ । अदालतले आजै मुद्दाको टुंगो जलागे पनि केही आदेश दिन सक्छ । आजको सुनुवाइ सकिँदासम्म अदालतले साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा हिरासतमा राख्ने भन्ने आदेश दिन सक्ने सम्भावना छ । आज सुनुवाइ नसकिए भोलि पनि सुनुवाइ हुनेछ ।

अभियोगपत्र दर्ता भइसकेको छ । अब अदालतमा बयान हुन्छ । बयानपछि थुनछेक बहस हुन्छ । थुनछेक बहसपछि अदालतले उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ । रविका समर्थकले भने निर्दोष व्यक्तिलाई पक्राउ गरेको भन्दै प्रदर्शन गर्दै आएका छन् । आइतबारको प्रर्दशनले भरतपुरमा सवारीजाम भएको थियो । मृतक शालिकराम पुडासैनीकी श्रीमतीले तिनै जना अभियुक्तविरुद्ध किटानी जाहेरी दिएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *