केरामा बिभिन्न रोग लाग्दा चितवनका केरा व्यवसायी चिन्तित

डिसी नेपाल
८ भदौ २०७६ १९:०८

चितवन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत केराको जोन मानिएको चितवनमा अहिले किसानहरु चिन्तित बनेका छन्।

केरामा गवारा, पानामालगायतका विभिन्न जातका रोगहरु लाग्दा सम्बन्धित निकायबाट कुनै चाँसो नदेखिएकोप्रति गुनासो व्यक्त गरेका हुन्।सरकारले केरामा अनुदान नदिदा केराले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न नसकेको चितवनका किसानहरुको गुनासो रहेको छ।

विगत १२ वर्षदेखि केरा खेती गर्दै आएका कालिका नगरपालिका ६ का केसरी प्रसाद देवकोटा सरकारले रोग नियन्त्रणका लागि कुनै राहत नदिएको बताउँछन्।

‘सरकारले रोग नियन्त्रणका लागि कुनै पहल कदमी र चाँसो दिएको छैन’, उनले भने। केरा खेती बिस्तारका लागि सरकारले विभिन्न योजनाहरु ल्याउनुपर्ने व्यवसायिक खेती गर्ने अर्का एक किसान नारायण पुडासैनीले बताए।

भदौ महिनामा रोग लागेसंगै केराको बजार भाउ घटेको त्यसैमा पनि रोग बढी लागेको बताउँदै चितवनका किसानहरु चिन्ता व्यक्त गर्छन्। उता चितवन केरा उत्पादक संघ र कृषि ज्ञान केन्दले जोन क्षेत्रका किसानहरुलाई खेतमै गएर प्राविधिक सल्लाह दिने गरेको कृषि ज्ञान केन्द्रको दाबी छ।

किसानहरुले रोग पहिचान नगरी अन्दाजीको भरमा केरामा विषादी हाल्नाले समस्या आएको कृषि ज्ञाम केन्द्र चितवनकी पूर्णिमा क्षेत्रीले बताईन्। उनका अनुसार प्रत्येक वर्ष एउटै बाली लगाउँदा पनि यस्तो समस्या आउने गर्छ।

राष्ट्रिय फलफूल विकास केन्द्रको पछिल्लो तथ्यांकअनुसार नेपालमा १८ हजार १४ हेक्टर क्षेत्रफलमा व्यवसायीक रुपमा केरा खेती भइरहेको छ। २ लाख ५४ हजार ४ सय ३ मेट्रिक टन केरा उत्पादन भएको अनुमान छ।

२५ हजार कृषक व्यावसायिक केरा खेतीमा संलग्न छन् भने चितवनको सन्दर्भमा चितवनको पूर्वी भागमा दुई हजार ६ सय भन्दा बढी बिघामा केरा खेती हुँदै आएको छ। जोनका मापदण्ड पुगेपछि केराको जोन चितवनलाई स्वीकृत गरिएको हो।

चितवनको केरा जोनमा भरतपुर महानगरपालिका १ ,३, रत्ननगरका सबै वडा, खैरहनी नगरपालिका र कालिका नगरपालिकाका १ देखि ८ सम्म परेका छन्। चितवनमा ४६ हजार मेट्रिक टन केरा उत्पादन हुन्छ।

जिल्लामा केरा खेतीमा करिव ७ सय बढी किसानहरु संलग्न रहेका छन्। प्रधानमन्त्री कृषि परियोजनाबाट जोन कार्यक्रम सञ्चालन हुन ५ सय हेक्टर क्षेत्रफलमा केराखेती भएको हुनुपर्नेछ। ब्लकका लागि १ सय हेक्टर र पकेटका लागि १० हेक्टर क्षेत्रफलमा केराखेती भएको हुनुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *