आर्थिक अवस्थाको मुल्यांकन नै नगरी सरकारले यूरोपेली प्रणाली लागू गर्न खोज्नु गलत हो : नेता नेपाल
काठमाडौं। सत्तारुढ दलकै वरिष्ठ नेता माधव कुमार नेपालले योगदानमा आधारित सामाजिक सुरक्षा योजना र अनिवार्य पान नम्बर (स्थायी लेखा नम्बर) लागु गर्ने व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन्।
पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघले आइतबार राजधानीमा गरेको कार्यक्रममा नेता नेपालले पूर्वाधार विना नै विदेशीको देखासिकी गरि सरकारले सामाजिक सुरक्षा योजना ल्याएको टिप्पणी गरे।
उनले अर्थतन्त्र कमजोर भएको मुलुकले अर्थतन्त्र सबल भएका मुलुकले लागु गरेको प्रणाली लागु गर्न खोज्दा त्यसले पार्ने प्रभावबारे पूर्व आँकलन गर्न नसकिएको तर्क गरे। फोहर मैला उठाउनेलाई पनि अनिवार्य पानको व्यवस्थाप्रति पनि उनले असन्तुष्टि जनाए।
उनले भने, ‘अर्थतन्त्र सम्मृद्ध हुनुपर्यो आर्थिक अवस्था राम्रो हुनुपर्यो । सिंगो व्यवसाय फस्टाउँदै जानुपर्यो । आर्थिक गतिविधि तिब्र ढंगले सञ्चालन हुँदै जानुपर्यो । आर्थिक गतिविधि सुक्दै जाने, पूँजी पलायन हुदै जाने, रोजगारीका समस्या विकराल बन्दै जाने । यस्तो अवस्थाभित्र कुन ढंगले कदम चाल्दा ठिक हुन्छ भनेर विचार नपुर्याइकन कुनै पनि कदम चाल्नु हुँदैन ।’ उनले मुलुकको पूर्वाधार र अर्थतन्त्रको मुल्यांकन नै नगरी यूरोपेली देशका प्रणालीलाई रातारात लागु गर्न खोज्नु गलत भएको टिप्पणी गरे ।
राजधानीमै आईतबार भएको दुई भिन्ना भिन्नै कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित समाजिक सुरक्षा योजना लागु गर्न मजदुरका नेताहरुकै संस्थाहरुले असहयोग गरेको बताएका थिए ।
फरक प्रसंगमा नेता नेपालले समाज सुधारको नाममा चाडपर्व मनाउ नपाउने गरि सरकारले नियन्त्रण गर्न नमिल्ने तर्क गरे। विभिन्न जिल्लाहरुमा स्थानीय प्रशासनले तीज सम्बन्धी कार्यक्रम पार्टी प्यालेसमा गर्न नपाउने भन्दै पत्राचार गरेकोतर्फ लक्षित गर्दै उनले विभिन्न जात जातिको धर्म र संस्कृतिलाई नियन्त्रण गर्न खोज्नु गलत हुने धारणा राखे।
Facebook Comment