‘ऐतिहासिक सम्पदालाई बिझाउने पुनर्निर्माण हुन नदिने’
नुवाकोट । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ऐतिहासिक सम्पदालाई बिझाउने गरी निजी आवास पुनःनिर्माण हुन दिन नहुने बताएका छन्।
साततले दरबार र वरपरको सम्पदा तथा निजी आवासको पुनर्निर्माणको अवलोकनपछि आज आयोजित छलफल कार्यक्रममा उनले सम्पदा बस्ती निर्माण गर्ने भनिए पनि आधारभूत मान्यताको पालना नभएको बताए।
‘सम्पदा बस्ती भनिएको छ तर, छेवैमा रहेको ऐतिहासिक सम्पदालाई बिझाउने गरी निजी आवास पुनःनिर्माण गरिएको छ’, उनले भने, ‘यसलाई नगरपालिकाले कडाइका साथ पालना गराउनुपर्छ, पुरातत्व विभागले सम्पदा बस्तीको लागि मापदण्ड तोकेको छ, सम्पदा बस्ती निर्माण गर्ने हो भने त्यो मापदण्ड पूरा गर्नुपर्छ।’
जिल्लामा सम्पदा बस्ती निर्माण गर्ने भनेर काम थालिए पनि केही भूकम्प पीडितले आफू खुशी घर बनाएका छन्। यसतर्फ ज्ञवालीले असन्तुष्टि जनाउँदै भने, ‘विश्व सम्पदा क्षेत्रमा पार्नुपर्छ भन्ने तर, हामीले हाम्रा सम्पदा र सम्पदा वरपरका बस्तीको स्वरुप बिगार्ने, अनि कसरी पर्छ? विश्व सम्पदा सूचीमा।’
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले चीन सरकारको सहयोगमा पुनःनिर्माण शुरु भएको नुवाकोट दरबार क्षेत्रको पुनःनिर्माणको काम चाँडै सम्पन्न हुने आशा व्यक्त गरे। उनले भने, ‘दरबार पुनःनिर्माण शुरु भएको छ, आशा गरौँ चाँडै पूरा हुनेछ, नुवाकोटको सांस्कृतिक, धार्मिक, ऐतिहासिक पक्षलाई प्रवद्र्धन गर्नको लागि गुरु योजना निर्माण गर्ने काम अन्तिम चरणमा रहेकाले वृहत्तर विकास हुनेछ।’
कार्यक्रममा पूर्वपरराष्टमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता महेन्द्रबहादुर पाण्डेले नुवाकोट दरबार क्षेत्रसँगै जोडिएका जिल्लाका अन्य सम्पदाको पुनःनिर्माण गर्नु पर्ने बताए।
उनले भूकम्पभन्दा अघि भत्किएका सम्पदाको पनि उत्खनन् गरी पुनर्निर्माण गर्न सकेमात्र सम्पदाको असली संरक्षण हुने बताए। ‘साततले दरबार क्षेत्रमा रहेको रणबहादुर शाहको दरबार भनिने सेतो दरबार उहिल्यै भत्कियो, त्यसको नक्सा छ भन्ने सुनेको छु, यहाँका चार ढोका पनि सङ्कटमा परेका छन्, यसको पनि पुनःनिर्माण र संरक्षण खाँचो छ’, उनले भने।
जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले परम्परागत घर, बस्ती लोप हुँदै गएका बताए। उनले भूकम्पको कारण सिमेन्ट र रड प्रयोग गरेका घरमात्र बलियो हुन्छ भन्ने सोचाइका कारण परम्परागत घर सकिएका बताए। उनले सरकारले पनि यस्ता घरको संरक्षणका कार्यक्रम ल्याउन नसकेको गुनासो गरे।
विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितले नगरपालिकाले सम्पदा बस्तीको मापदण्डअनुसारका निजी आवास निर्माण गराउनको लागि पहल गरिरहेको बताए। रासस
Facebook Comment