निर्देशक भन्साली र सलमानको विवादले इन्शाअल्लाह रोकियो, आलियाको बिचल्ली
मुम्बई । निर्देशक सञ्जय लीला भन्सालीको नयाँ फिल्म ‘इन्शाअल्लाह’ बाट सलमान खान अलग्गिएका छन् । आलिया भट्टसँग पहिलो पटक काम गर्न लागेका सलमान र निर्देशक संजय लीला भन्सालीबीच फिल्मको स्क्रिप्ट र पारिश्रमिकका विषयमा कुरा नमिलेपछि हाललाई सलमानले यो फिल्म नगर्ने भएका हुन् ।
साथै भन्सालीको तर्फबाट समेत अहिलेलाई फिल्मको शुटिंग बन्द गरिएको जानकारी दिइएको छ । मिडिया रिपोर्टका अनुसार करिब १२० दिनको शुटिंगका लागि सलमानले सय करोड मागेको बताइएको छ । तर भन्सालीले भने फिल्मको बजेट नै १५० करोड भएकाले एक कलाकारलाई सय करोड दिएमा फिल्म बन्न नसक्ने तर्क गर्दै हाललाई फिल्मको शुटिंग रोक्ने निर्णय गरेको बताइएको छ ।
साथै सलमान र संजयबीच फिल्मको स्क्रिप्टका विषयमा पनि विवाद भएको बताइएको छ । सलमानले फिल्मको स्क्रिप्टमा केहि परिवर्तन गर्न खोजेको तर संजयले भने स्क्रिप्ट परिवर्तन गर्न नामानेको बताइएको छ । संजयका फिल्म बलिवुडमा सुपरहिट हुने हुनाले उनले कसैसँग आफ्नो स्क्रिप्ट र आइडिया बताउन र त्यसलाई परिवर्तन गर्न नमानेको बताइएको छ ।
त्यस्तै पछिल्लो दशक नै सुपरहिट फिल्म दिइरहेका सलमानले भने फिल्म निर्माणको प्रक्रियामा सहभागी भएर आफ्नै किसिमले काम गर्ने बानि भएकाले समस्या उत्पन्न भएको बलिवुडमा चर्चा चलेको छ । २०२० को इदमा रिलिज हुने भनिएको इन्शाअल्लाह अब इदमा रिलिज हुने सम्भावना कम रहेको देखिएको छ । भन्साली प्रोडक्सनले फिल्मको शुटिंग सुरु हुने समय छिटै जानकारी दिइने बताएको छ । सलमानसँग फिल्ममा काम गर्ने भएपछि उत्साहित भएकी आलिया भट्टको सलमानसँग काम गर्ने सपना तत्कालका लागि टरेको छ ।
Facebook Comment