पहिरो पीडितको घरमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

डिसी नेपाल
११ भदौ २०७६ ०:१२

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट बोडीस्वाँरामा गएको पहिरोको स्थलगत अवलोकन गरेका छन्।

पहिरोपीडितलाई भेट्न आज गृह जिल्ला पर्वत आएका अध्यक्ष तिमिल्सनाले स्थलगत अवलोकनका साथै पहिरोमा ज्यान गुमाएका परिवारलाई सरकारका तर्फबाट दिइने रु एक लाख नगद राहत हस्तान्तरण गरे।

उनले पहिरामा परी ज्यान गुमाएका परिवार तथा स्थानीयवासीलाई भेटेर विपद्को अवस्थामा सबै मिलेर उद्धार र राहतमा जुट्न आग्रह गरे। उनले आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

उक्त अवसरमा पर्वतका प्रजिअ कल्पना घिमिरे नेपालले उद्धार र राहतको अवस्थामा जानकारी गराइन्। भदौ ५ गते बुधबार राति गएको पहिराले घर बगाउँदा ७० वर्षीय रेमबहादुर चालिसेको मृत्यु भएको थियो ।

घरमा श्रीमान्लाई छाडेर छिमेकी गाउँमा छोरी भेट्न गएका कारण ज्यान बचे पनि डिलकुमारी चालिसे भावविह्वल अवस्थामा आफ्ना पीडा अध्यक्ष तिमिल्सिना सुनाइन् । पीडित परिवारलाई यसअघि कुस्मा नगरपालिकाले पनि रु एक लाख पाँच हजार नगद हस्तान्तरण गरेको थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *