प्रशिक्षक बन्न क्रिकेट बोर्डको पद छाडे मिस्बाहले !
एजेन्सी । पाकिस्तानका पूर्व कप्तान मिस्बाह उल हकले पाकिस्तान क्रिकेट बोर्डको पद छाडेका छन् ।
पाकिस्तान क्रिकेट टिमको मुख्य प्रशिक्षक बन्न उल हकले बोर्ड सदस्य पद त्याग गरेका हुन् । बोर्ड सदस्य पद त्यागेका ४४ वर्षे उल हकले प्रशिक्षकका लागि निवेदन दिएका छन् ।
‘भविष्यमा पाकिस्तानको मुख्य प्रशिक्षक भनेर मेरो नाम देखिदा मलाई आश्चर्य लाग्थ्यो’ उल हकले भने, ‘तर यसको निर्णय भने मैले अहिले गरेको छु । म पूर्ण रुपमा सचेत हुँदै मुख्य प्रशिक्षकको लागि आवेदन दिएको छु ।’
यस्तै उनले प्रशिक्षक पदका लागि कठिन प्रतिस्पर्धा हुने भएपनि आफुले निवेदन दिएको बताए । ‘यस दौडमा थुप्रै अनुभवी र उत्कृष्ट प्रशिक्षकको समेत आवेदन पर्नेछ । यो क्षण निकै प्रतिपर्धात्मक हुनेछ,’ उनले थपे ।
पाकिस्तान क्रिकेट बोर्डले भने अहिलेसम्म कुनै अनुभवी तथा ठुला प्रशिक्षकको आवेदन नपरेको बताएको छ । आवेदन दिनेमा अष्ट्रेलियाका पूर्व ब्याट्सम्यान डीन जोन्स प्रख्यात नाम रहेको बताइएको छ ।
यस्तै पूर्व पाकिस्तानी फास्ट बलर तथा मुख्य प्रशिक्षक वकार युनिसले समेत बलिङ प्रशिक्षकका लागि आवेदन दिएका छन् ।
Facebook Comment