नेपाल र सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध

काठमाडौँ । नेपाल र क्यारेबियन मुलुक सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। योसँगै विश्वका १६७ देशसँग नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएको छ।
कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सोही विश्व संस्थाका लागि सेन्ट लुसियाका स्थायी प्रतिनिधि कसमस रिचर्डसनले आज न्यूयोर्कमा आयोजित एक संक्षिप्त समारोहमा हस्ताक्षर गरे।
त्यस अवसरमा दुवै देशका राजदूतले दौत्य सम्बन्ध स्थापनासँगै द्विपक्षीय र बहुपक्षीय मामिलामा साझेदारी गर्न सहज हुने विश्वास व्यक्त गरेका छन्।
नेपाल र सेन्ट लुसियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटरेसलाई दुवै देशका राजदूतले आजै दिनुभएको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ। रासस
Facebook Comment