दोस्रो अभ्यास खेलमा नेपालको धमाकेदार जित (फोटो फिचर)

डिसी नेपाल
१२ भदौ २०७६ १८:४३

काठमाडौं। यू १९ एसिया कप क्रिकेटका लागि श्रीलंका पुगेको नेपाली युवा टोलीले बिहीबार अभ्यास खेलमा जित हात पारेको छ। पहिलो अभ्यास खेलमा श्रीलंकन क्लब टिमसँग ३ विकेटको हार व्यहोरेको नेपालले बिहीबार भएको दोस्रो अभ्यास खेलमा श्रीलंकन क्लब टिमलाई ठूलो अन्तरले पराजित गरेको हो।

श्रीलंकाको बदुरालिया क्रिकेट क्लबसँगका खेलमा पहिला ब्याटिंग गरेको नेपालले ४६ ओभर ४ बलमा अलआउट हुँदै २०६ रन बनाएको थियो। जवाफमा बदुरालिया २३ ओभर १ बलमा अलआउट हुँदै मात्र ८४ रनमा सिमित भयो। नेपालले खेल १२२ रनको फराकिलो अन्तरले जितेको हो।
नेपालका सागर ढकालले ५ ओभर १ बलमा १८ रन दिएर ५ विकेट लिएपछि श्रीलंकन टोली संकटमा परेको हो। यस्तै पवन सर्राफ र कमल सिंह ऐरीले २–२ विकेट लिए भने कुसल भुर्तेलले एक विकेट लिए।

यसअघि नेपालका लागि रित गौतम र हरिबहादुर चौहानले अर्धशतकीय इनिंग खेलेका थिए। गौतमले १२६ बलमा ४ चौकासहित ७६ रन बनाए भने चौहानले ७८ बल खेल्दा ५६ रन बनाए। उनले २ चौका र एक छक्का पनि प्रहार गरेका थिए । यस्तै सन्दीप जोराले २४, मोहम्मद आसिफ शेखले १४, भीम सार्कीले १०, कप्तान रोहित कुमार पौडेलले ३ र खड्गबहादुर बोहोराले २ रन बनाएका थिए।

श्रीलंकन क्लब टिमका लागि देविन्दु डिकवालाले सर्वाधिक ३१ रन बनाए।

श्रीलंकामा हुने यू १९ एसिया कप खेल्न नेपाली टिम हाल श्रीलंकामा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *