सन्यासपछि महेन्द्र सिंह धोनी बलिउडमा प्रवेश गर्दै
काठमाडौं। भारतीय छनोटकर्ताहरुले बिहीबार दक्षिण अफ्रिकाविरुद्ध टि–२० सिरिजको लागि भारतीय टिम घोषणा गर्दा महेन्द्र सिंह धोनी टिममा अटाएनन् । विश्वकपमा न्यूजिल्याण्डविरुद्ध सेमिफाइनलमा हारेर बाहिरिएपछि केही समयको लागि धोनी आफैं टिमबाट बाहिरिएका थिए । उनले २ महिनाको समय भारतीय सेनालाई दिने भन्दै टिमबाट विदा लिएका थिए ।
धोनीले १५ दिन भारतीय सेनाको रुपमा कश्मिरमा ड्युटी गरे । धोनीले सन्यास घोषणा नगरेको भए पनि २०२० मा हुन लागेको टि–२० विश्वकपलाई ध्यानमा राख्दै छनोटकर्ताहरुले विकेटकिपर ब्याट्सम्यानको रुपमा धोनीलाई भन्दा ऋषभ पन्तलाई महत्व दिए । पछिल्लो समय धोनीले सन्यास लिएपछिको लागि अर्कै योजना बनाएको डेकन क्रोनिकलको समाचारमा उल्लेख छ ।
रिपोर्टका अनुसार धोनी फिल्म निर्माताको रुपमा बलिउड प्रवेश गर्दैछन् र उनले बलिउडमा पहिलो फिल्म आफ्ना निकटका साथी तथा अभिनेता जोन अब्राहमसँग मिलेर बनाउँदैछन् । यो कुराको दावी गरिएपछि आधिकारिक पुष्टि भने भएको छैन । डेकन क्रोनिकलले स्रोतको हवाला दिँदै लेखेअनुसार धोनी फिल्मका पारखी हुन् । निरज पाण्डेले धोनीको बायोपिक बनाउँदा उनले फिल्म उद्योगलाई नजिकबाट हेर्ने मौका पाए र अब उनी यसमा आबद्ध हुन चाहेका छन् ।
Facebook Comment