प्रभासको साहोले पाएन राम्रो प्रतिक्रिया, कथाबिनाको एक्सन भएको टिप्पणी

डिसी नेपाल
१४ भदौ २०७६ १६:०५

काठमाडौँ । बलिवुडमा यस बर्षको बहुप्रतिक्षित फिल्म साहो शुक्रबार रिलिज भएको छ । हिन्दीसहित चार भाषामा रिलिज भएको यो फिल्म साढे ३ सय करोडको लगानीमा निर्माण गरिएको छ । बाहुबली-२ को रिलिजपछि २ बर्षपछि अभिनेता प्रभासको फिल्म आएकाले धेरैले अग्रिम बुकिंग गरेर फिल्म हेर्ने उत्सुकता व्यक्त गरेको पाइएको छ ।

तर फिल्म विश्लेषकहरुले फिल्म राम्रो नभएको रिभ्यु दिएपछि भने फिल्मको बक्स अफिस कलेक्सनलाई असर गर्ने देखिएको छ । फिल्ममा प्रभाससहित श्रद्धा कपुर, जैकी श्राफ, चंकी पाण्डे, निल नितिन मुकेश, मन्दिरा बेदी लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा कैयौ पात्रहरु यस्ता छन जो फिलरको रुपमा मात्र राखिएका छन् । उनीहरुको भूमिका प्रभावकारी नै छैन । फिल्ममा प्रभास पूर्णरुपमा हावी भएका छन् भने चंकी पाण्डेको भूमिका उत्कृष्ट रहेको छ ।

काल्पनिक शहर वाजीपुरबाट फिल्मको कथा शुरु हुन्छ । जैकीले राय नामको विजनेस एम्पायर चलाएका हुन्छन । उनी देश विदेशमा फैलिएको एम्पायरका सर्वेसर्वा हुन्छन् । तर उनले आफ्नो इज्जत प्रतिष्ठाका लागि एक स्टिल फ्याक्ट्री लगाउन चाहन्छन जसको लागि उनले केहि राजनीतिज्ञको सहयोग चाहिने हुन्छ ।

राजनीतिक दलका केहि व्यक्तिहरु यस्ता हुन्छन जसले जैकीसँग बदला लिन चाहन्छन् । यसै दुश्मनीमा जैकीको हत्या हुन्छ । यस पछि फिल्मको कथा देश विदेश घुमेको देखिन्छ । अर्को तर्फ फिल्ममा राय को एम्पायरर कालो धन्दाको छानबिन गर्न प्रभास, श्रद्धा र मुरली प्रहरीको भूमिकामा सक्रिय रहेका हुन्छन ।

प्रभासले रायको एम्पायर ध्वस्त गर्ने प्रतिज्ञा गरेसँगै फिल्ममा प्रहरी र अन्डरवर्ल्डको द्वन्द सुरु हुन थाल्छ । फिल्मको कथामा एकरुपता नै देखिदैन । पटक पटक फिल्ममा आउने आरोह अवरोहका कारण दर्शकलाई फिल्मको कथा बुझ्न नै मुश्किल हुने गर्दछ । तर फिल्ममा प्रयोग भएको प्रविधि र एक्शन सिनले दर्शकलाई मनोरंजन भने प्रयाप्त दिन्छ । फिल्ममा असान्दर्भिक रुपमा आउने गीतले खल्लो महसुस हुन्छ । फिल्ममा कुन पात्र प्रहरी हो या अन्डरवर्ल्डको हो भन्ने कन्फ्युजन कायमै रहन्छ । निर्देशकले नियतबश नै कन्फ्युज गरेको बुझ्न सकिन्छ ।

फिल्ममा प्रयोग भएको प्रविधिले हलिवुड फिल्मको टक्कर दिन्छ तर कम्जोर कथावस्तु रहेको फिल्ममा एक्शन मात्र हेर्न तीन घण्टा अत्यन्त लामो लाग्छ । फिल्म हेरेर बाहिर आउदा फिल्मको कथा के थियो भन्ने ठम्याउन मुश्किल हुने गर्दछ । बाहुबलीका दुई सफल सिरिज पछि आएको प्रभासको यो ठुलो बजेटको फिल्मले उनको बाहुबली फेमलाई कमजोर बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *