नयाँ शैली र मार्ग प्रयोग गरेर नेपालबाट हुन्छ विदेशमा मानव तस्करी

डिसी नेपाल
१४ भदौ २०७६ १८:२४

काठमाडौं। इन्डोनेशियाको प्रसिद्ध पर्यटकीय गन्तव्य बालीमा करिब १० महिनासम्म बन्धक बनाइएका तीन नेपाली युवक र एक नेपाली युवती यसै साता सकुशल स्वदेश फर्काइएपछि अनुसन्धानमा सक्रिय अधिकारीहरू मानव बेचबिखनका लागि प्रयोग हुन थालेका नयाँ मार्ग र गन्तव्य देखेर आश्चर्यचकित भएका छन्।

इन्डोनेशियाली अधिकारी, त्यहाँस्थित नेपाली व्यवसायी र बन्धक बनाइएका पीडित पक्षको सक्रियतामा फर्काइएका चार जना अहिले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको संरक्षणमा छन्। कानुनी उपचारको खोजीको क्रममा प्रहरीलाई आफ्नो पीडा सुनाउन व्यस्त उनीहरूले अहिले चिकित्सकीय तथा मनोवैज्ञानिक परामर्श पनि लिइरहेका छन्।

उनीहरूलाई अस्ट्रेलिया लैजाने भन्दै बाली लगेर त्यहाँ बन्धक बनाइएको थियो। नेपालमा रहेका परिवारलाई ‘अस्ट्रेलिया पुगिसक्यौँ भन्न लगाएर’ दलालहरूले ‘दशौँ लाख रुपैयाँ ठगी गरेको’ दाबी गरिको छ। आरोप लागेका दुई जनालाई पनि नेपाल फर्काइको छ। उनीहरू पनि अहिले अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्।

भयावह स्थिति
ब्यूरोका अधिकारीहरूका अनुसार इन्डोनेशियाको बालीबाट गरिएको उद्धार ‘सोझा र कमजोर आर्थिक पृष्ठभूमिका’ नेपाली युवायुवती तथा किशोरकिशोरीको विदेशमा बेचबिखन हुने क्रम ‘झनै भयावह’ बन्न थालेको बताउँछन्।

तस्करहरूले त्यसका लागि नयाँ मार्ग प्रयोग गर्न थालेको देखिएको छ। यसअघि नेपालीहरूलाई खासगरी भारतका प्रमुख सहर हुँदै तेस्रो देश लगेर मानव बेचबिखन हुने गरेका विवरण सार्वजनिक हुने गर्थे।

तर अहिले ‘मानव बेचबिखनका लागि नयाँनयाँ बाटा र गन्तव्यहरूको प्रयोग हुन थालेको छ,’ ब्यूरोका सूचना अधिकारी एसपी गोविन्द थपलियाले भने। ‘बाली त्यसको एउटा उदाहरण हो।’

जानकारहरूका अनुसार वैदेशिक रोजगारी, आप्रवासन र शिक्षाका आवरणमा नेपालबाट मानव बेचबिखन हुने गरेको छ।

त्यो विषयमा नेपाली अधिकारीहरू संवेदनशील भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल र भारतबीचको खुला सीमानाकामा कडिकडाउ हुन थालेपछि मानव बेचबिखनका लागि नयाँ शैली र मार्ग प्रयोगमा आउन थालेका हुन्।

केही समयअगाडि पूर्वोत्तर भारतको मणिपुर र मिजोरम हुँदै म्यान्मार (बर्मा) पुर्‍याउन लागिएका नेपाली किशोरी तथा युवतीहरूलाई उद्धार गरिएको थियो।

त्यस भेगबाट नेपाली महिलालाई सीमा पार गराइएको विवरण त्यसअघि कहिल्यै सार्वजनिक भएको थिएन।

नेपालको राष्ट्रिय मानव अधिकार आयोगको मानव बेचबिखनबारेको पछिल्लो प्रतिवेदन भन्छ, ‘विगतमा नेपालबाट भारत हुँदै हुने मानव बेचबिखनमा हाल आएर भारत, बाङ्ग्लादेश, म्यान्मार, थाईल्यान्ड , इन्डोनेशिया लगायतका नयाँ मार्गहरू प्रयोग भइरहेको देखिन्छ।’

ब्यूरोका एसपी थपलियाका अनुसार मानव बेचबिखनका लागि भारतका अतिरिक्त चीन, बाङ्ग्लादेश, श्रीलङ्का र अन्य देशका नयाँ मार्ग समेत प्रयोग भएको पाइएको छ।

अधिकारीहरूका अनुसार मानव बेचबिखनका लागि इन्टरनेट र मोबाइल फोनमा उपलब्ध हुने नयाँनयाँ एपको समेत प्रयोग हुन थालेको छ।

आयोगको प्रतिवेदनअनुसार सूचनाप्रविधिमा बढ्दो पहुँचका कारण त्यसको दुरुपयोग गर्दै मानव बेचबिखन गर्ने क्रम बढेको पाइएको छ।

आयोगको प्रतिवेदन भन्छ, ‘मानव बेचबिखनका दलाल तथा अन्य संलग्न व्यक्तिहरूले पीडित सम्पर्क माध्यमका रूपमा आधुनिक प्रविधि, सामाजिक सञ्जालको प्रयोग र इमो, वीच्याटजस्ता सम्पर्क माध्यमहरूको प्रयोग भइरहेको भेटिन्छ।’

त्यो प्रतिवेदनअनुसार मानव बेचबिखनको परम्परागत गन्तव्य र उद्देश्यमा समेत परिवर्तन आएको छ। ‘यौन शोषणका लागि महिला र बालबालिकाको बेचबिखनले ठूलो हिस्सा लिए पनि बाध्यकारी श्रम, अस्थायी नियन्त्रण, मानव तस्करीसँगै अवैध सामग्रीको तस्करी लगायतका प्रयोजन पनि बढ्दै गएको,’ त्यसमा उल्लेख छ।

मानव बेचबिखनको चङ्गुलमा फसेका नेपाली युवतीहरूलाई श्रीलङ्का, माल्दिभ्स, मलेशिया, खाडीका विभिन्न देश र अफ्रिकी महादेशका केन्या र तान्जानियामा वयस्क मनोरञ्जनको क्षेत्रमा काममा लगाइएको पाइएको ब्यूरोका एसपी थपलियाले बताए।

केही समयअघि मात्रै अफ्रिकी देश केन्याको राजधानीमा नेपाली युवतीहरूलाई त्यहाँका प्रहरीले मनोरञ्जन केन्द्रबाट उद्धार गरेको थियो।

त्यसका अतिरिक्त कैयौँ युवायुवती संयुक्त राज्य अमेरिका लाने बहानामा अवैध र घुमाउरो बाटो दक्षिण अमेरिकाका विभिन्न देश पुर्‍याएर अलपत्र पार्ने गरिएका कैयौँ दृष्टान्त नेपाली सञ्चारमाध्यममा यसअघि नै पटकपटक सार्वजनिक भइसकेका छन्।

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनअनुसार गत वर्ष नेपालका ३५ हजार मानिस बेचबिखनमा परेका थिए।

तीमध्ये छ लाख वैदेशिक रोजगारी, ६० हजार वयस्क मनोरञ्जन र दुई लाख ‘निकृष्ट’ बालश्रमका लागि बेचबिखनमा परेका थिए।
त्यो प्रतिवेदनअनुसार अहिले पनि नेपालका करिब १५ लाख मानिस मानव बेचबिखनको जोखिममा रहेका छन्। तीमध्ये १३ देखि १९ वर्ष उमेरका १२ लाख ग्रामीण किशोरीहरू बेचबिखनको जोखिममा छन्।

त्यसअनुसार वयस्क मनोरञ्जनका लागि २१ हजार, वैदेशिक रोजगारीको तयारीमा रहेका झन्डै दुई लाख र बालश्रमका लागि एक लाख मानिस जोखिममा छन्।

मानव बेचबिखनका लागि पूर्वोत्तर भारत, म्यान्मार, थाईल्यान्ड, इन्डोनेशिया, टर्की र यूएई लगायतका खाडीका देशका विभिन्न नयाँ बाटाहरू प्रयोग हुन थाले पनि गन्तव्यहरू एकै किसिमका हुने गरेको अनुसन्धानकर्ताहरू बताउँछन्।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसपी थपलियाले भने, ‘पैसावाल मानिसहरू प्रायः क्यानडा, अमेरिका, युरोप, जापान र अस्ट्रेलियाजस्ता देशमा जान खोजिरहेका हुन्छन्।’ ‘त्यस क्रममा उनीहरूबाट निकै मोटो रकम असुल्ने गरिएको छ। कमजोर आर्थिक अवस्था भएका मानिसहरू चाहिँ खाडी वा पूर्वी एशियाका देश जाने क्रममा बेचबिखनमा परिरहेका हुन्छन्।’

इन्डोनेशियाको बालीमा ‘बन्धक बनाइएका’ पीडितहरूलाई चाहिँ अस्ट्रेलिया लैजाने आश्वासन दिइएको थियो।

एसपी थपलियाले भने, ‘तर उनीहरूलाई बालीमै एउटा घरमा बन्धक बनाएर राखेर पीडितहरूलाई घरमा फोन गर्न लगाएर ुअस्ट्रेलिया पुग्यौँ, पैसा पठाउनूु भन्न लगाइएको रहेछ।’ ‘त्यस क्रममा उनीहरूबाट १५ देखि २२ लाख रुपैयाँ पनि असुलिएको रहेछ।’

अधिकारीहरूका अनुसार इन्डोनेशियाबाट बेचबिखनमा पर्न लागेका नेपाली नागरिकहरू फर्काइएको यो पहिलो घटना होइन। यस पटक उद्धारमा सहयोग गरेका जाकार्तास्थित नेपाली व्यवसायी अनीश शाक्यले भने, ‘यसअघि पनि पटकपटक गरी दश जनालाई बालीबाट नेपाल फर्काइएको छ।’

इन्डोनेशियामा उत्रिएपछि नेपालीले एक महिनासम्मको लागि पर्यटक भिसा पाउने भएकोले पनि बालीमा नेपालीहरू ल्याएर राख्ने क्रम बढेको हुन सक्छ।’ (बीबीसी नेपालीबाट साभार)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *