१६ वर्षे फाटीको गोल, बार्सिलोना बराबरीमा रोकियो
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविकको विजेता बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना ओसासुनासँग २–२ गोलको बराबरीमा रोकिएको हो ।
ओसासुनाको मैदानमा भएको खेलमा अन्तिम १० मिनेट सम्हालिन नसक्दा बार्सिलोना बराबरीमा रोकिएको हो । कप्तान लियोनल मेस्सीबिना मैदान उत्रिएको बार्सिलोना खेलको सातौं मिनेटमा पछि परेको थियो ।ओसासुनाका रोबर्टो टोरेसले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफमा बार्सिलोना खेलमा फर्कियो । खेलको ५१ औं मिनेटमा यूवा खेलाडी अन्सु फाटीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । ओसासुनाविरुद्ध गोल गरेसँगै १६ वर्ष ३०४ दिनका फाती ला लिगामा बार्सिलोनाबाट सवार्धिक कम उमेरमा गोल गर्ने खेलाडी बने ।
यस्तै ६४ औं मिनेटमा अर्थरले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । तर, खेलको ८१ औं मिनेटमा ओसासुनाका टोरेसले पेनाल्टीमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए । यो बराबरीसँगै बार्सिलोनाले ३ खेलबाट ४ अंक जोडेको छ । सातौं बार्सिलोनाको यो दोस्रो बराबरी हो । चौंथो स्थानको ओसासुनाको ५ अंक रहेको छ ।
Facebook Comment