लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा, सलाहसँग माने आक्रोशित!

डिसी नेपाल
१५ भदौ २०७६ ७:४०

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले अपराजित यात्रा कायम राखेको छ । शनिबार राति भएको खेलमा बर्नलीलाई ३–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले अपराजित यात्रा कायम राखेको हो ।

लिभरपुलको जितमा साडियो माने र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे । लिभरपुलले एक गोल आत्मघाती उपहार पाएको थियो । बर्नलीका क्रिस वुडले आत्मघाती गोल गरेका थिए ।

लिभरपुलले खेलमा आत्मघाती गोलबाट अग्रता बानाएको थियो । खेलको ३३ औं मिनेटमा वुडले आत्मघाती गोल गर्दा लिभरपुल १–० ले अघि रह्यो । ३७ औं मिनेटमा मानेले गोल गरेपछि लिभरपुल पहिलो हाफमा २–० ले अघि रह्यो ।

दोस्रो हाफमा लिभरपुलले थप एक गोल गर्यो । खेलको ८० औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई ३–० को जित दिलाए । योसँगै फिर्मिन्हो प्रिमियर लिगमा ५० गोल पुरा गर्ने पहिलो ब्राजिलियन खेलाडी बनेका छन् ।

यो जितसँगै लिभरपुलले लिगमा लगातार १३ खेलमा जित निकाल्दै अपराजित यात्राको कीर्तिमान बनाएको छ । जितसँगै लिभरपुलले ४ खेलबाट १२ अंक जोडेको छ । र, लिभरपुल शीर्ष स्थानमा रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २ अंकले अघि रहेको छ । पराजित बर्नली ४ खेलबाट ४ अंक जोडेर लिगको ११ औं स्थानमा छ ।

यसैबिच यो खेलको अन्तिम समयमा लिभरपुलका दुई महत्वपूर्ण खेलाडीबिच मनमुटावको अवस्था सिर्जना भयो । खेलको ८५ औँ मिनेटमा आफूलाई बल पास नदिएकोमा साडिओ माने मोहम्मद सलाहसँग रिसाए । आक्रोशमा आएका मानेलाई प्रशिक्षक जर्गेन क्लोप्पले मैदानबाट बाहिर बोलाए । उनलाई रोबर्टो फिरमिनो, जेम्स मिल्नर तथा प्रशिक्षक क्लोप्पले शान्त बनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *