अनुष्काले अपरेशन गरेर पाठेघर फालिदिएको खुलासा गरिन्
काठमाडौं। भारतकी चर्चित सितारवादक अनुष्का शंकरले आफ्नो पाठेघर निकालेको खुलासा गरेकी छिन् । पाठेघरको संक्रमणले निकै ठूलो रुप लिएपछि उनले यस्तो कदम उठाएको जानकारी दिएकी छिन् । उनले यसबारे फेसबुक पोष्टमार्फत् जानकारी दिएकी छिन् ।
आफ्नो लामो लेखमा उनी लेख्छिन्, ‘गत महिना मैले दोहोरो शल्यक्रिया गराएँ । अब मसँग पाठेघर छैन । मेरो पेट र पाठेघरमा करिब १३ ट्युमर थिए । जसका कारण मेरो पाठेघर ६ महिनाको गर्भवती महिलाको जस्तो भएको थियो । डाक्टरले शल्यक्रियामार्फत् त्यसलाई निकालिदिए । केही महिनाअघि जब मेरो पाठेघर निकाल्नुपर्छ भनेर जानकारी पाएँ तब म तनावमा परेँ ।’
अनुष्का लेख्छिन्, पाठेघर निकाल्ने कुराले मलाई भित्रैदेखि गलाएको थियो । यो म महिला हुनुको पहिचान गुमाउनु जस्तै थियो । भविष्यमा कुनै पनि सन्तान जन्माउन नसक्ने भय पनि थियो । यतिमात्र होइन यो शल्यक्रिया अघि मलाई लागिरहेको थियो कि कतै मेरा बालबच्चा आमाबिहिन हुने हो कि भन्ने पनि डर थियो ।’ अनुष्का भन्छिन्, ‘मैले यसबारे आफ्ना साथी र आफन्तसँग कुरा गरेपछि थाहा भयो कि हिस्टेरेक्टोमीको शल्यक्रिया गर्ने धेरै महिला छन् । पहिला मलाई यसबारे केही थाहा थिएन ।’
अनुष्का लेख्छिन्, ‘म पूर्ण रुपमा अचम्मित थिएँ । यदि यो शल्यक्रिया यति साधारण छ भने मानिसहरु यसबारे किन कुरा गर्दैनन् । जब मैले यसबारे एक महिलासँग कुरा गरेँ तब उनले निकै अचम्मित गरिदिने कुरा गरिन् । आफूहरु हरेक ठाउँमा महिलासँग सम्बन्धित स–साना कुरा प्रचार नगर्ने बताइन् । ’
अनुष्काले आफ्नो पाठेघरको शल्यक्रियाबारे जानकारी दिँदै भनिन्, ‘म ११ वर्षको हुँदा पहिलो पटक महिनावारी भएँ । मलाई हरेक २०–२५ दिनमा अत्यधिक पीडा हुन्थ्यो र म रगतले लत्पत्तिएको हुन्थेँ । धेरैपटक क पीडाका कारण भुइँमा नै लडिबुडी गर्दथेँ । डाक्टरले मलाई औषधी दिन्थे । मैले त्यो हरेक महिना खानुपर्दथ्यो ।’
Facebook Comment