सरकारले प्रतिपक्षको विश्वास जित्ने रणनीति बनाएको हो?

डिसी नेपाल
१६ भदौ २०७६ ७:२६

काठमाडौं। दुई तिहाइ बहुमतको सरकार गठन भएपछि सत्तापक्ष र प्रतिपक्ष दलबीचको सम्बन्ध सुमधुर हुन सकेन। सत्ता पक्षमा अहंकार र उम्माद बढेको प्रतिपक्ष आरोप लगाइरह्यो भने प्रधानमन्त्र केपी ओलीले मौका मिल्ने वित्तिकै प्रतिपक्षलाई ‘शब्द वाण’ प्रहार गरिहाल्थे।

सरकार गठन भएको करिव ६ महिनापछि व्यापक मात्रामा सरकारको आलोचना भयो। सरकार अधिनायकवादतर्फ अघि बढ्न खोजेको, विकास गर्न नसकेको र शान्ति सुरक्षा कायम गर्न सरकार चुकेको जस्ता विषय उठाएर प्रतिपक्ष नेपाली कांग्रेसले सरकारको चर्को विरोध गर्यो।

विशेष गरी काठमाडौं उपत्यकाको सडक र धुलो धुवाँलाई लिएर सरकारको नागरिकस्तरबाट समेत चर्को आलोचना भयो। प्रधानमन्त्रले दिने अभिव्यक्तिको झन ठूलो आलोचना भयो।

सरकारले प्रतिपक्षलगायतका शक्तिलाई पनि विश्वासमा लिएर जाने नीति लिएको देखिएको छ

संसदमा कमजोर प्रतिपक्षको उपमा पाएको कांग्रेसले बेला बेलामा संसद अवरोध सम्म गर्यो। प्रधानमन्त्री संसदलाई सम्वोधन गर्न रोस्टममा उभिएका बेला समेत कांग्रेसले अवरोध गर्यो।

तर पछिल्लो समय प्रधानमन्त्रीले आफूलाई ‘करेन्सन’ गरेका छन्। कम बोल्ने र आफ्नो अभिव्यक्तिमा प्रधानमन्त्रीले नियन्त्रण गर्न थालेका छन्। स्वास्थ्य उपचार गर्न सिंगापुर जानु अगाडि प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको सर्वदलीय बैठक बोलाएका थिए। उनले लोकतान्त्रिक गणतन्त्र खतरामा पार्ने खेल हुन थालेको भन्दै सबै शक्ति एकजुट हुनुपर्ने सर्वदलीय बैठकमा बताएका थिए।

यसरी पछिल्लो समय सरकारले प्रतिपक्षलगायतका शक्तिलाई पनि विश्वासमा लिएर जाने नीति लिएको देखिएको छ। प्रधानमन्त्री निटक स्रोतका अनुसार मुलुकको विकास गर्न सबै दलको सहयोग आवश्यक पर्ने भएकाले सबै दललाई विश्वासमा लिएर अगाडि बढ्ने सरकारको नीति रहेको छ।

यही नीति अनुसार गत शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्दै आफ्ना आगामी योजनाका लागि आवश्यक सल्लाह तथा सुझाव लिए।

बूढानीलकण्ठस्थित देउवाको निवास पुगेर मन्त्री भट्टराईले भ्रमण वर्ष २०२० लाई सफल बनाउन तथा मन्त्रालयगत कार्ययोजना कार्यान्वयनका सवालमा प्रमुख प्रतिपक्षी दलको समेत साथ र समर्थन आवश्यक महसुस गरी मन्त्री भट्टराईले देउवासँग परामर्श गरेका हुन्।

सत्ता पक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोपको संस्कार बढ्दै गइरहेका बेला मन्त्री भट्टराईले फरक शैली प्रदर्शन गरेका हुन्। देउवासँगको भेटपछि सामाजिक सञ्जाल फेसबुकमा दुवै जनाको तस्वीर सार्वजनिक गर्दै मन्त्री भट्टराईले आफूले सम्हालेको मन्त्रालयका तर्फबाट भइरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा देउवालाई जानकारी गराएको उल्लेख गरेका छन्।

उनले मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा कांग्रेस सभापति देउवाले अभिरुचिका साथ सुन्नुका साथै महत्वपूर्ण सल्लाह सुझाव दिएको बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *