महिला ‘सेलिब्रिटी’को तीज : उत्साहित छैनन् भुवन, विराटनगर पुगिन् दीपाश्री

काठमाडौं। हिन्दु नेपाली नारीहरुको महान पर्व तीज आज मनाइँदैछ। अघिल्लो दिन राति अवेर दर खाएर भोलिपल्ट तीजको दिन ब्रत बसेर शिवको पूजा गर्ने परम्परा छ ।
आजको दिन अविवाहितहरु असल श्रीमानको कामना गर्दै ब्रत बस्दछन्। विवाहित श्रीमान तथा सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्छन्।
त्यस्तै, नारीहरु रातो साडी, श्रृङ्गारमा रंगीचंगी सजिएर नाँचगान गरेर यो दिनलाई मनाउँछन्। नेपाली सेलेब्रिटीहरु कसरी तीज मनाउँदैछन् ? दर्शकलाई चासो रहन सक्छ। हामीले केही सेलेब्रिटीहरुलाई यसवर्षको तीज कसरी मनाउँदै हुनुहुन्छ भनी सोधेका छौं।
भुवनको नरमाईलो तीज
नेपालकी प्रथम अभिनेत्री भुवन चन्दलाई यसवर्षको तीज नरमाईलो लागिरहेको छ। केही अस्वस्थ छिन् उनी। त्यसमाथी आफूलाई मनपर्ने अभिनेत्री सुभद्रा अधिकारीको निधनले उनलाई निराश बनाएको छ।
उनका सन्तान पनि अमेरिकामा छन्। यी कारणले तीजमा त्यति उत्साह नभएपनि व्रत बस्ने भुवन बताउँछिन्। डिसी नेपालसँग भनिन्–‘उमेर घर्किँदै गएपछि उत्साह पनि घट्दो रहेछ। पहिले निराहार व्रत बस्थेँ। यसवर्ष स्वास्थ्यको ख्याल राख्दै फलफूल/पानी खाएर ब्रत बस्नेछु ।’
दौडधुपमा दीपा
चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौलालाई तीजले राम्रैसंग छोपेको छ। उनी तीज मनाउन घर विराटनगर पुगेकी छन्।
त्यहाँ उनी थुप्रै तीज विशेष कार्यक्रममा सहभागी जनाइन्। बिराटनगर उपमहानगरपालिकाकी सद्भावनादूत हुन् दीपाश्री। आइतबार महानगरले सम्मानसहित तीज बिशेष कार्यक्रम राखेको थियो।
‘शुक्रबार यहाँ आएदेखि नै तीजका कार्यक्रमहरुमा ब्यस्त छु’ दीपाश्रीले आइतबार डिसी नेपालसंग भनिन् –‘तीजको दिन पूजा गर्दै परिवार, दिदीबहिनीका साथ नाँचगान गरेर तीज मनाउनेछु।’
नेपाली सेलेब्रिटीहरु कसरी तीज मनाउँदैछन् ? दर्शकलाई चासो रहन सक्छ। हामीले केही सेलेब्रिटीहरुलाई यसवर्षको तीज कसरी मनाउँदै हुनुहुन्छ भनी सोधेका छौं।
दीपाश्री अहिलेसम्म निराहर ब्रत भने बसेकी छैनन्। ‘फलफूल,जुस, पानी खान्छु । ब्रत बस्दा स्वास्थ्यप्रति समेत हुन् सम्पूर्णलाई आग्रह पनि गर्छु’–उनी भन्छिन्।
करिष्माको साधारण तीज
अभिनेत्री करिष्मा मानन्धर साधारण तरिकाले तीज मनाउने बताउँछिन्। ‘त्यस्तो स्पेशल केही छैन्’उनले भनिन् –‘ममी, बहिनी लगायत परिवारसंग गफगाफ, खानपान र सामान्य नाँचगानमा तीज मनाउँछु।’
करिष्माले यसवर्ष तीजको गीतमा नृत्य गरिन्। केही तीज विशेष कार्यक्रममा सहभागीता जनाइन्। उनी तीजमा निराहार ब्रत भने नबसेको बताउँछिन्।
‘विनोदजी नेवार, म क्षेत्री समुदायकी । त्यसैले ब्रत बस्नुपर्छ भन्ने थिएन’ करिष्माले भनिन् ‘तर म विवाहपछि भने म व्रत बस्नु नपरेपनि बस्थेँ।’ तीजको दिनभन्दा पञ्चमीको दिन विशेष पूजा गर्ने करिष्मा बताउँछिन्।
कहिल्यै ब्रत नबसेकी आँचल
अभिनेत्री आँचल शर्माको परिक्षाको तयारीमा छिन्। त्यसकारण तीजको दिनपनि आफू पढाइमै केन्द्रित हुने आँचल बताउँछन्। उनी यो उमेरसम्म कहिल्यै ब्रत नबसेको बताउँछिन्। गतवर्ष मात्रै ब्रत बस्छु भनेकी उनीले ब्रतलाईं दिउँसोसम्म पनि टिकाउन नसकेको बताउँछिन्।
हाँस्दै भनिन् –‘गतवर्ष ट्राइ गरेकी थिए। तर १२ बजेपछिनखाईकन बस्नै सकिन्।’ ब्रत नबसे पनि मिलेसम्म यसवर्ष मन्दिर जाने योजनामा छिन्।
दीपिकाको विहेपछिको पहिलो तीज
अभिनेत्री दीपिका प्रसाईँका लागि विवाहपछिको पहिलो तीज हो, यो। तर, उनी खुलेर तीज मनाउन पाउँने छैनन्। भन्छिन् ‘बिहेपछिको पहिलो तीज राम्रोसंग मनाउँला भन्ने सोँचेकी थिए। तर, बिचमा परिक्षा परिदियो।’
त्यसबाहेक डान्स क्लास, नयाँ सिनेमाको वर्कशपका कारण पनि तीजमा खुल्न नसकेको दीपिका बताउँछिन्। खुलेर तीज मनाउन नपाएपनि मन्दिर गएर पूजा गर्ने, र ब्रत बस्ने दीपिका बताउँछिन्। ‘ब्रत पनि अहिलेसम्म बसेकी थिइन्’ उनी भन्छिन् –‘विवाहपछिको पहिलो तीज भएर ब्रत बस्न लागेकी हुँ।’
Facebook Comment