बच्चा अपहरण गर्न लागेको भन्दै दिल्लीमा गर्भवती महिलामाथि कुटपिट

डिसी नेपाल
१७ भदौ २०७६ ८:५८

बीबीसी । भारतको राजधानी दिल्लीमा बच्चा अपहरण गरेको शङ्का गर्दै मानिसहरूले एउटी गर्भवती महिलामाथि कुटपिट गरेका छन्।

बीबीसीलाई प्रहरीले बताएअनुसार कुटपिट गरिएकी ती २५ वर्षीया महिलाको अवस्था स्थिर अहिले स्थिर छ। कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ।

बालबालिका अपहरण गरिएको हल्लाका आधारमा दिल्ली र त्यस वरपरका राज्यहरूमा यस्ता घटना पहिले पनि हुने गरेका थिए। गत वर्ष पनि बालबालिका अपहरणको यस्तै हल्लाका कारण भौतिक आक्रमण गरिँदा केही व्यक्तिको मृत्यु भएको थियो।

दिल्लीमा भएको घटनाको भिडिओ फुटेजमा ती महिलालाई भिडले घेरेको देखिन्छ। मानिसहरूले उनलाई बच्चा अपहरणको आरोप लगाउँदै ती महिलालाई कुटेको देखिन्छ।

यस्ता आक्रमणका घटना प्रायः उत्तर प्रदेशमा दर्ता भएका छन्। उत्तर प्रदेश दिल्लीसँग जोडिएको राज्य हो। ‘अगस्ट २९ सम्ममा कम्तीमा ४६ वटा यस्ता उजुरी दर्ता भएका छन्। ती सबै घटनामा हामीले बालबालिका अपहरणको कुनै पनि प्रमाण भेटेनौँ’ प्रहरी महानिरीक्षक ओपी सिंहले बीबीसीसँग भने।

‘हामी मानिसहरूलाई त्यस्तो हल्लाको पछि नलाग्न आग्रह गर्छौँ। यदि तपाईंलाई शङ्का लागेमा प्रहरीलाई आकस्मिक नम्बरमा कल गर्नुहोस्‌ वा सामाजिक सञ्जालमार्फत् उजुरी गर्नुहोस्।’ दिल्लीको बाहिरी भागमा पर्ने गाजियावादमा अगस्टमा ६ वट यस्ता उजुरी दर्ता भएका छन्।

‘एउटा घटनामा आफ्ना नातिनातिनासँग बाहिर आएकी एउटी वृद्धालाई पनि मानिसहरूले आक्रमण गरेका छन्। ती हजुरआमा र नातिनातिनाको छालाको रङ्ग फरक रहेकाले मानिसहरूले आक्रमण गरेका थिए,’ वरिष्ठ प्रहरी अधिकारी नीरज जादौनले भने।

उनले त्यस घटनामा संलग्न सबैलाई पक्राउ गरिसकिएको बताए। भारतभरि यस्ता खाले घटनाबारे उजुरी परिरहेको भए पनि त्यहाँ बालबालिका अपहरण बढेको हो वा होइन भन्ने चाहिँ स्पष्ट छैन।

बाहिर आएका विवरणहरूअनुसार बालबालिका अपहरणको हल्ला एसएमएस वा ह्वाट्स्एपमार्फत् फैलने गरेको छ। अधिकारीहरूले यस्तो हल्लामा विश्वास नगर्न आग्रह गरेका छन्।

उनीहरूले अन्लाइनमार्फत् फैलिरहेका ती घटनाहरूमा साँच्चै बालबालिका अपहरणमा परेका छन् वा छैनन् भन्ने हालसम्म स्प्षट भइनसकेको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *