सुनको भाउ आकाशिएको बेला सुनकै ग्रह भेटियो !

डिसी नेपाल
१७ भदौ २०७६ ११:४७

अमेरिका । वैज्ञानिकहरुले न्युट्रोन स्टारहरु ठोक्किएको करिब दुई वर्षपछि यसबाट ठूलो मात्रामा सुन र प्लाटिनम उत्पन्न भएको पत्ता लगाएका छन् । रोयल एस्ट्रोनोमिकल सोसाइटीले आफ्नो मासिक जर्नलमा सुन र प्लाटिनमका सयौं ग्रह उत्पन्न भएको भन्दै एक अध्ययन प्रतिवेदन प्रकाशित गरेको छ । सन् २०१७ मा दुई तारा ठोक्किएका थिए । सन् २०१६ मा पनि यस्तै घटना भएको थियो । त्यसैले यस घटनामा उनीहरुले विशेष ध्यान दिए । यसबाट दुई सूक्ष्म तारा ठोक्किएर विलय भएर किलोनेभा उत्पन्न भएको उनीहरुले बताए ।

ठूला तारा विस्फोट भएपछि अथवा टुक्रिएपछि ताराको बचेको अवशेषलाई न्युट्रोन स्टार अथवा सूक्ष्म तारा भनिन्छ । न्यूट्रोन स्टार ब्ल्याक होलमा मिले पनि किलोनोभाको निर्माण हुन्छ । सन् २०१६ र २०१७ भएको न्युट्रोन स्टारको टकराबले ठूलो मात्रामा सुन र प्लाटिनम उत्पन्न भएको रिपोर्टमा उल्लेख छ ।

सुनको यो भण्डार ग्यालेक्सी एनजीसी ४९९४ मा पाइन्छ । यो पृथ्वीभन्दा १३० देखि १४० प्रकाशवर्ष टाढा छ । अर्थात् आजभन्दा करीब १३ देखि १४ करोड वर्ष पहिले दुई न्युट्रोन स्टार ठोक्किएका थिए । ग्यालेक्सी एनजीसी ४९९४ मा कति सुन छ भनेर हाल अनुमान गर्न नसकिए पनि टकरावबाट निकै धेरै सुन र प्लाटिनमका पिण्ड बनेको वैज्ञानिकहरु बताउँछन् ।

पृथ्वीमा सुन र प्लाटिनम कसरी उत्पन्न भयो भन्ने कुरामा यस अध्ययनले मद्दत गर्ने वैज्ञानिकहरुको मान्यता छ । पृथ्वीको गर्भमा केकति सुन र अन्य बहुमूल्य धातु छन् भनेर अझै स्पष्ट तथ्यांक छैन । पृथ्वीमा पाइने यी बहुमूल्य धातु लाखौं वर्षपहिले निर्माण भएको किलोनोभाकै परिणाम रहेको उनीहरुको अनुमान छ । पृथ्वीमा हालसम्म उत्खनन गरिएको सुन करिब २० घनमिटरको ट्यांकीमा अट्ने वैज्ञानिकहरुले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *