ट्राफिकले स्कुटरको मूल्यभन्दा धेरै जरिवानाको रसिद थमाएपछि…

डिसी नेपाल
१७ भदौ २०७६ १५:४२

काठमाडौं। हामीकहाँ ट्राफिक नियम तोड्ने सवारीले केही जरिवाना तिरेर छुट्ने गरेका छन् । केहीले भने सेटिङमा ट्राफिक प्रहरीलाई केही रकम दिएर रसिद नकाटी छुट्ने गरेको पनि चर्चा चल्ने गर्छ । उता छिमेकी देश भारतमा हालै नयाँ ट्राफिक नियम लागू भएको छ । ट्राफिक नियम तोड्दा तिराइने जरिवाना बढाएको २ दिन भयो । यही बीचमा दिल्लीमा निकै रोचक घटना भएको आज तकको समाचारमा उल्लेख छ

गुडगांव अदालतमा काम गर्ने दिल्लीका एक व्यक्तिलाई ट्राफिक प्रहरीले २३ हजार रुपैयाँ जरिवाना ठोके । जबकि उनले चढ्ने स्कुटरको मूल्य भारतीय बजारमा अहिले १५ हजार भारु मात्र छ । दिल्लीको गीता कोलोनीमा बस्ने दिनेश मदन हरियाणाको गुडगांव अदालतमा काम गर्छन् । सोमबार उनी केही कामले आफ्नो २०१५ मोडलको स्कुटर लिएर बाहिर निस्किँदा ट्राफिकको फन्दामा परे ।

बिना हेल्मेट निस्किएका दिनेशसँग त्यतिबेला स्कुटरका कागजातहरु पनि थिएनन् । उनले केही समयपछि कागजात उपलब्ध गराउने बताए । तर, त्यतिबेलासम्म उनको २३ हजार रुपैयाँको चालान काटिइसकेको थियो । यो चालान मोटर भेहिकल एक्ट १९८८ सेक्सन २१३ का विभिन्न धाराहरुअन्तर्गत काटिएको थियो ।

बिना हेल्मेट एक हजार, बिना लाइसेन्स ५ हजार, बिना बिमा २ हजार, बिना रजिस्ट्रेसन ५ हजार, र प्रदुषण मुक्त कागजात नभएका कारण १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो । दिनेशले हेल्मेट नलगाएको भए पनि अन्य सबै कागजात उनीसँग थिए तर साथमा मात्र लिएर गएका थिएनन् । २३ हजार त्यतिबेला उनीसँग थिएन त्यसैले ट्राफिकले उनको स्कुटर जफत गरेको छ । अब दिनेश अन्योलमा छन् कि १५ हजारको गाडी छुटाउन २३ हजार तिर्ने कि नयाँ स्कुटर किन्ने ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *