सर्वोच्चले रोक्यो ओलम्पिक कमिटीको निर्वाचन

डिसी नेपाल
१७ भदौ २०७६ १८:३१

काठमाडौं । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचन रोक्न अन्तरिम आदेश दिएको छ ।अदालतबाट मान्यता प्राप्त एनओसीका सदस्य कमल बहादुर चित्रकारले निर्वाचन रोक्न माग गर्दै दायर भएको रिटमा मंगलबार सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश टंक बहादुर मोक्तानको एकल इजलासले अन्तरिम आदेश दिएको हो ।

यस्तै अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । अदालतले भदौ २२ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।

ओलम्पिक कमिटिका सदस्य चित्रकारले राष्ट्रिय मान्यता नपाएको ओलम्पिक कमिटिको चुनाव रोक्ने माग गर्दै गत आईतबार अदालतमा रिट दायर गरेका थिए ।

रिटमाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको ईजलासले अन्तरिम आदेश जारी गरेको हो ।

‘रिट निवेदनको बिषयको गम्भीर्यतालाई दृष्टिगत गर्दा दुवै पक्ष राखी छलफल गरी उचित निकासमा पुग्नु मनासिव देखिएको छ,’ आदेशमा भनिएको छ ।

संघका पुर्व महासचिव समेत रहेका चित्रकारले अवैधानिक घोषित एनओसीका अध्यक्ष जिवनराम श्रेष्ठ, खेलकुद मन्त्रालय, राखेप, जिल्ला प्रशासन कार्यालय ललितपुर, जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाउदै रिट दायर गरेका थिए ।

राष्ट्रिय र अन्तराष्ट्रिय मान्यताको विवादमा फसेको ओलम्पिक विवाद पुन अदालतमा प्रवेश गरेको छ । राष्ट्रिय मान्यता प्राप्त एनओसीलाई रुक्म शम्सेर राणा पक्ष र अन्तराष्ट्रिय मान्यता प्राप्त एनओसीलाई जीवनराम श्रेष्ठले नेतृत्व गर्दै आएका छन् । अदालतको आदेशसंगै भदौ २० गतेका लागि तय ओलम्पिकको चुनाव अन्यौलमा परेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *