जित नजिक पुगेर पनि यसरी हार्यो श्रीलंका, न्यूजिल्याण्डलाई टि ट्वान्टी श्रृंखला
कोलम्बो (एजेन्सी) । पाहुना टिम न्यूजिल्याण्डले श्रीलंकाविरुद्धको टि ट्वान्टी क्रिकेट श्रृंखला एक खेल बाँकी रहँदै जितेको छ। मंगलबार पाल्कालेमा सम्पन्न दोस्रो टि ट्वान्टीमा न्यूजिल्याण्ड ४ विकेटले जित्यो ।
पहिला ब्याटिंग गर्दै श्रीलंकाले दिएको १६२ रनको लक्ष्य न्यूजिल्याण्डले २ बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गर्यो। उसका लागि कोलिन डि ग्राण्डहोम र ब्रुसले अर्धशतक बनाए। ग्राण्डहोमले ५९ रन बनाए भने, ब्रुसले ५३ रन बनाए।
त, खेलको अन्तिम ओभर निकै रोमाञ्चक रह्यो। अन्तिम ओभरमा न्यूजिल्याण्डलाई जितका लागि ७ रन आवश्यक थियो। स्ट्राइकमा थिए डीजे मिचेल। बलर थिए, वानिन्डु हरसुंगा।
उनको पहिलो बलमा रन लिने प्रयासमा ब्रुस ननस्ट्राइक इण्डमा रन आउट भए। दोस्रो बलमा मिचेल क्याच आउट भएपछि श्रीलंका खेलमा फर्कियो। तेस्रो बल श्रीलंकाका लागि हार्टब्रकिंग भयो। मिचेल सेन्टेनरले छक्कालागि उडाएको बल सीमा रेखामा सनकाले सफलतापूर्वक समाते।
तर, उनी सम्हालिन नपाउँदै अर्का फिल्डर कुशल मेण्डिससँग ठोक्किन पुग्दा बल उनको हातमा थियो, उनले सीमा रेखा छोए। जसको कारण न्यूजिल्याण्डले ६ रन पायो। क्याच भइसकेको बल पनि फिल्डर एकआपसमा ठोक्किँदा जितको नजिक पुगेको श्रीलंका हार व्यहोर्न बाध्य भयो।
चौथो बलमा सेन्टेनरले चौका प्रहार गर्दै जित सहित ३ खेलमा श्रृंखलामा न्यूजिल्याण्डलाई २–० को अग्रता दिलाए। अघिल्लो खेल पनि न्यूजिल्याण्डले जितेको थियो। उता ठोक्किँदा घाइते भएका सनकालाई स्ट्रेचरमा राखेर मैदान बाहिर लगिएको थियो।
Facebook Comment