अमेरिकाले साइबर आक्रमण गरेको ह्वावेईको आरोप

डिसी नेपाल
१८ भदौ २०७६ २२:१४

बेइजिङ (एजेन्सी) । विशाल चिनियाँ प्रविधि कम्पनी ह्वावेईले अमेरिका सरकारले आफ्नो व्यापार बिगार्न सबै उपाय अपनाएको आरोप लगाएको छ । अमेरिकाले आफ्नो सञ्जालमा हस्तक्षेप गर्न साइबर आक्रमण गरेको र आफ्ना कर्मचारीलाई धम्काएको आरोप मंगलवार ह्वावेईले एउटा विज्ञप्तिमा लगाएको छ । अमेरिका र चीनको द्वन्द्वमा चेपुवमा परेको सो कम्पनीलाई अमेरिकाले गत वर्ष कालोसूचीमा राखेको थियो । उसले आफ्ना आरोप पुष्टि गर्ने कुनै प्रमाण भने दिएको छैन।

अमेरिकाले आफ्ना कर्मचारीलाई अवैधानिक रूपमा हिरासतमा राखेको, आन्तरिक सूचना प्रणालीभित्र छिर्न साइबर आक्रमण गरेको र एफबीआईका गुप्तचर कर्मचारीका घरमा पठाएर कम्पनीबारे सूचना सङ्कलन गरेको आरोप विज्ञप्तिमा छ । ‘ह्वावेईलाई हतोत्साही बनाउन र उद्योग क्षेत्रमा ह्वावेईको नेतृत्व नियन्त्रण गर्न अमेरिका सरकारको हानिकारक प्रयासको हामी निन्दा गर्छौँ,’ ह्वावेईले भनेको छ । अमेरिकाले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

ह्वावेईले स्मार्टफोन क्यामराको पेटन्ट चोरी गरेको आरोपमा अमेरिका सरकारले अनुसन्धान गरेको भन्दै वाल स्ट्रीट जर्नलमा एउटा विवरण प्रकाशित भएपछि ह्वावेईले सो विज्ञप्ति निकालेको हो । अमेरिका र चीनको शक्ति सङ्घर्षमा ह्वावेई पर्ने गरेको छ । ह्वावेई अमेरिकाको राष्ट्रिय चुनौतीका लागि चुनौती भएको भन्दै अमेरिकाले सो कम्पनीलाई गत मे महिनामा प्रतिबन्ध लगाएको थियो । ह्वावेईले चीनका लागि जासुसी गर्ने अमेरिकाको दाबी छ। तर सो कम्पनीले भने त्यो आरोपको खण्डन गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *